• २५ फागुन २०८१, आइतबार

जुम्लामा महिला मिलेर खोले ‘आमा घर’

blog

जुम्लामा सुरक्षित आश्रयका लागि खुलेको आमा घर। तस्बिरः नेत्र शाही

नेत्र शाही 

जुम्ला, फागुन २४ गते। जुम्लामा हिंसा पीडित महिलाको सशक्तिकरण, आपतकालीन आश्रय, न्याय पैरवीका लागि ‘दिमा आमा घर’को स्थापना गरिएको छ। बढिरहेको हिंसालाई न्यूनिकरण गर्न तथा न्यायीक निकायमा पुर्याउने भन्दै सात जना घरेलु हिंसा पीडित महिलाले कार्यालय स्थापना गरेका हुन्। जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ मा आमा घर स्थापना गरिएको हो।

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाका अध्यक्ष दिलमाया शाहीले जुम्लामा आमा घरको आवश्यकताका विषयमा जानकारी दिनुभयो। उहाँले जुम्लामा पत्रकारिता क्षेत्रबाट गरेको सेवावाट आफूसँग जोडिएका सात जना महिला मिलेर हिंसा पीडितकाको न्याय, आत्मनिर्भरता, पैरवी तथा सशक्तिकरणका लागि दिमा आमा घर स्थापना गरिएको जानकारी दिनुभयो। 

संस्थाले हिंसामा परेका महिला र छोरीलाई आश्रय सहित न्यायको पैरवीसँगै स्वास्थ्य उपचारमा सघाउने छ।    


जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल संस्थाका अध्यक्ष दिलमाया शाही सहितले उद्घाटन गर्नुभएको हो।