एकिन्द्र तिमिल्सेना
टीकापुर, फागुन २४ गते । सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री मेघराज खड्काले साहित्यले समाजको कथा व्यथा मात्रै नभई नेपालका राजनीतिक क्रान्तिमा योगदान गरेको बताउनुभएको छ । शनिबार टीकापुर साहित्य सम्मेलनको उद्घाटनमा टीकापुरमा बोल्दै मन्त्री खड्काले साहित्य समाजको ऐना भएकाले समाजको यथार्थ बोल्दा त्यसबाट समाज रुपान्तरण हुने बताउनुभएको हो ।
‘टीकापुर योजनावद्ध सहर हो एक समय शैक्षिक केन्द्रका रुपमा थियो अब यसलाई साहित्यिक गतिविधिले पुनर्जागरण ल्याउनुपर्छ,’ मन्त्री खडकाले भन्नुभयो, ‘साहित्यिक गतिविधिले मोवाइल आएपछि त्यसैमा झुम्मिने घोप्टेयुगमा प्रवेश गरेका युवा तथा बालबालिकामा पठन संस्कृतिको विकास होस् ।’ सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री डाक्टर रणबहादुर रावलले टीकापुरमा भएको साहित्य सम्मेलनले यहाँको खस र थारू भाषा र पहिचानको प्रवर्धन हुने र साहित्यिक यात्रामा युवा पुस्ताको सहभागिता बढ्ने अपेक्षा गर्नुभयो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले प्रदशेका सबै ज्लिलामा साहित्य र संस्कृतिको प्रसार गरिने बताउनुभयो ।
आयोजक संस्था टीकापुर साहित्य समाजका अध्यक्ष तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहले रङहरूको मौसम फागुनमा देशभर नौ वटा साहित्यिक सम्मेलन भैरहेका र साहित्य पनि ग्लामर क्षेत्रको रूपमा विकास भैरहेको बताउनुभयो । उहाँले देशका मुर्धन्य साहित्यकारहरूको उपस्थितिमा भैरहेको टीकापुर साहित्य महोत्सवको ‘ब्रान्ड भ्याल्यू’ बढेको र पाँचौ संस्करणसम्म पुग्दा अन्तराष्ट्रिय मापदण्डमा पुर्याउने बताउनुभयो ।
२०७२ सालमा भएको हिंसात्मक घटनापछि टीकापुर सहर मानिसहरूको रोजाइमा पर्न छोडेको छ । नयाँ मानिस नआउने र पहिले बसेकाहरू पलायन हुँदा सहरी विकास हुन सकेको छैन् यही चिन्ताका बिच साहित्यमार्फत सामाजिक सद्भाव भन्ने नाराका साथ टीकापुर साहित्य महोत्सव भैरहेको छ ।
महोत्सवमा प्राध्यापक डाक्टर अभी सुवेदी, राजनीतिशास्त्री हरि शर्माको प्रवचन हुनेछ । कार्यक्रममा लेखन, कविता, उपन्यास, विकास, संस्कृति आख्यान, कला नाटकका क्षेत्रमा १८ वटा सत्र चल्नेछन् । यसमा पहलमासिंह स्वाँर साहित्य विशेष सत्र पनि रहेका छन् । फागुन २४ देखि २६ गतेसम्म १८ वटा सत्र चल्ने यो टीकापुर महोत्सवको दोस्रो संस्करण हो।
महोत्सवको उद्घाटन सत्रमा टीकापुरको पहिलो आवासीय विद्यालय वीरेन्द्र विद्या मन्दिर माविका पूर्व प्राचार्य तथा साहित्यकार धनञ्जय तिमिल्सिना र पहिलो शिक्षक बलबहादुर रावललाई एक लाख राशीको खड्ग स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ । यस्तै ५० हजार राशीको टीकापुर साहित्य प्रतिभा पुरस्कार मदन पुरस्कार विजेता साहित्यकार विवेक ओझा र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी अमित चौधरीलाई २५ हजार राशीको जेहेनदार विद्यार्थी पुरस्कार प्रदान गरिएको छ ।