• २५ फागुन २०८१, आइतबार

प्रदेश सरकारले समाज कल्याण ऐन ल्याउने

blog

धर्बेन्द्र झा  

जनकपुरधाम, फागुन २४ गते । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले समाजकल्याणसँग सम्बन्धित विभिन्न विषयलाई समेटेर एकिकृतरूपमा प्रदेश सरकारले समाज कल्याण ऐन ल्याउन लागेको बताउनुभएको छ। 

मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले आसमान नेपाल, लाइफ नेपाल, ओरेक नेपाल सहितको एक दर्जन महिला अधिकारवादी सङ्घ संस्थासँगको समन्वयमा ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले हामीले महिला र पुरुष एक रथको दुइ पाङ्ग्रा रहेको भनिरहँदा हाम्रै समाजभित्र अझैै पनि महिलाहरू दोस्रो दर्जाको नागरिक भएर बाच्नुपर्ने बाध्यता रहेको भन्दै महिला अधिकारको सवालमा निर्माण भएका कानुनको कार्यान्वयन प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरूलाई समान व्यवहार गर्ने कुराको सुरुवात आफ्नै घरबाट हुनुपर्ने भन्दै त्यसो नभएको खण्डमा समान व्यवहारका कुरा चर्चामै मात्रै रहने बताउनुभयो । 

मन्त्री जयसवालले कतिपय ठाँउमा महिलाहरू आफैँ दबिएर बस्नु पर्ने बाध्यता रहेको भन्दै महिलाहरूले पनि आफैँले आफूलाई सवल भएर अगाडी आउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले महिला सशक्तीकरणका लागि प्रदेश सरकार स्थापना भएकै समयदेखि बेटी पढाउ बेटी बचाउ, छोरी बिमा जस्ता विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको भन्दै आउने दिनमा पनि महिलाको समान अधिकारका लागि बेटी जिन्दावाद जस्ता विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्ने धारणा राख्नुभयो । 

उहाँले महिलाको अधिकार प्राप्तीका विषयमा प्रदेश सरकारले निमार्ण गर्ने ऐन कानुन बनाउने विषयमा प्रदेश सरकारका सचेत रहेको भन्दै लामो सङ्घर्षपछि प्राप्त भएको सङ्घियताको सफल कार्यान्वयनको जिम्मेवारी पनि हाम्रो काँधमा रहेको बताउनुभयो । 

कार्यक्रममा महिला बालबालिका तथा सामाजिक न्याय समिति मधेश प्रदेशका सभापति रूपा यादवले मधेश प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको भए पनि आरक्षणको साथसाथै चेली छोरीलाई सक्षम बनाउने कुरामा राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 

लैङ्गिक हिंसा प्रतिकार्य समन्वय समितिका सदस्य सुभद्रा आलेको अध्यक्षतामा भएको सो कार्यक्रममा नीति आयोग मधेश प्रदेशका सदस्य डा.रिना यादव, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशका शाखा अधिकृत विद्या तामाङ, अधिवक्ता रेखा झा, राज कुमार महासेठ, बालबालिकाकाे अधिकारका लागि काम गर्ने संजिवकुमार साह सहितका महिलाको समान अधिकार र सशक्तीकरणका लागि आ—आफनो धारणा राख्नु भएको थियो । 

कार्यक्रममा ओरेक नेपालका बिनाकुमारी सिंहले महिलाको अवस्था, चुनौती र अधिकार प्राप्तिका लागि गर्नुपर्ने कामकाजको विषयमा आफनो प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा अटो रिक्सा चालक महिला र सुरक्षा गार्डको तालिम लिएर कामकाज गर्ने महिलाहरूलाई सम्मान गरिएको थियो । 

कार्यक्रमअघि आज बिहान जनकपुरधामको रेल्वे स्टेसनबाट महिला अधिकारसँग जोडिएका विभिन्न नारा सहितको प्लेकार्ड लिएर जनकपुरधामको विभिन्न भागमा प्रभातफेरी गरिएको थियो ।