अनिल पराजुली
हेटौँडा, फागुन २४ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी आरोपमा सात जनालाई पक्राउ गरेको छ। पीडित युवतीले प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटनामा संलग्न आरोपीहरूलाई पक्राउ गरिएको हो ।
पीडित युवतीले घटनाको बारेमा २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घटनामा संलग्न भई पक्राउ परेका आरोपितहरू १८ वर्षभन्दा मुनीका किशोरहरू भएकाले उनीहरूको पहिचान गोप्य राखेको उहाँले बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका २ स्थित वनस्खण्डी मन्दिरको माथि जङ्गलमा २०८१ माघको ६ गते जबर्जस्ती करणीको घटना भएको पीडितले दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जानकारी दिएको छ । पीडितको जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा २२ फागुनमा पाँच जना र २३ गते दुई जना गरी सात जना नियन्त्रणमा लिएको हो ।
आरोपित किशोरहरूलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट जबरजस्ती करणी कसुर मुद्रामा पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।