• ७ वैशाख २०८२, आइतबार

संविधान अक्षरशः पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुन्छः उपाध्यक्ष घिमिरे

blog

राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे शनिबार काठमाडौँमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन २४ गते । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताउनुभएको छ । शनिबार काठमाडौँमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कानुन बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्ने कुरामा पछि परेको बताउनुभयो । उहाँले संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एक जनाको व्यवस्था गरेको भए पनि वा र र को शब्दमा अपव्याख्या गरिएको बताउनुभयो । उहाँले विगतका अभ्यास, कानुन, नियम, संविधान, इतिहाससँगै अघि बढाउनुपर्ने बताउनुभयो ।

‘‘कानुन बनाउने कुरामा हामी अगाडि छौँ । त्यही कानुनलाई, संविधानलाई कसरी बुझेका छौँ । एउटा मात्रै उदाहरण राख्न चाहन्छु । हाम्रो संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एक जना भन्यो । तर त्यहाँ वा र र को शब्दमा व्याख्या गर्‍यौँ । पालिकाको प्रमुख र उपप्रमुखमा एक जना महिलाको व्यवस्था गर्‍यौँ तर त्यसको व्याख्या कसरी गरेका छौँ ?,’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो, ‘‘संविधान र कानुनमा लेखिएका कुराहरूलाई ति हिजोका अभ्यास र कतिपय व्यवहारमा कसरी लागु गर्ने भन्नेकुराहरु सम्बन्धित निकायमा सम्बन्धित प्रतिनिधिहरूको हातमा हुँदो रहेछ । त्यसलाई सही ढङ्गले वा बेठिक ढङ्गले व्याख्या गर्ने भन्नेकुरा हुन्छ । त्यसैले यस्ता कुराहरूमा समेत कानुनी हिसाबमा कानुनलाई कसरी लागु गर्ने भन्नेकुरा तपाईं हाम्रो हातमा छ । हामी अहिले मुख्य जिम्मेवारीमा छौँ । कानुन निर्माणको थलोबाट पनि हामीले महिला आन्दोलन र अधिकारसँग जोडिएका प्रश्तावहरू अघि बढाइरहेका छौँ ।’’

उपाध्यक्ष घिमिरेले हरेक क्षेत्रबाट सबैले सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । सबै मिलेर सङ्घर्ष गरेमात्रै आफ्नो अधिकार सुनिश्चित हुने जिकिर गर्नुभयो । अरूलाई अपमान गर्नु भनेको चेतनास्तर कमजोर हुनु रहेको बताउनुभयो ।