रौतहट, फागुन २४ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसङ्ख्याका आधारमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष प्रचण्डले आर्थिक समानता र जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको हो । ‘‘साँचो अर्थमा महिलाहरूको मुक्ति र समानताका लागि राज्यसत्ताका हरेक तहमा जनसङ्ख्याका आधारमा प्रतिनिधित्व तथा स्रोत र साधनमा समेत उनीहरूको स्वामित्व सुनिश्चित भएमा मात्रै सम्भव छ ।,’’ उहाँले उल्लेख गर्नुभएको छ, ‘‘राजनीतिक अधिकार प्राप्त भए पनि आर्थिकरूपमा समानता कायम नभएसम्म र उत्पादनका सबैखाले साधनमाथि महिलाहरूको स्वामित्व सुनिश्चित नहुँदासम्म वास्तविक अर्थमा महिला मुक्ति सम्भव छैन ।’’
आठ मार्च समानताको अधिकारका लागि सङ्घर्षको मोर्चामा होमिएका विश्वभरिका महिलाका लागि गौरव र प्रेरणाको दिन भएको र यो दिनले आधा आकाश ओगटेका महिलालाई पुरुषसरह हरेक तहमा समान सहभागिता, स्वामित्व र सम्मानका लागि प्रेरित गर्दै आएको उहाँले बताउनुभएको छ ।
‘‘यही मान्यताका आधारमा नेपालमा समेत महिलाले आन्दोलन गर्दै आएको र ऐतिहासिक सङ्घर्षको जगमा निर्मित संविधानले महिला अधिकारलाई सुनिश्चित गर्दै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘यद्यपि व्यवहारतः महिलामाथिको हिंसा, विभेद, दमन अझै अन्त्य हुन सकेको छैन । त्यसैले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन र जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै आर्थिकरूपमा समेत अधिकार प्राप्तिका लागि अघि बढ्न म सबैमा आह्वान गर्दछु ।’’
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने बाटोमा अघि बढिरहेको छ र अहिले जनतासँग माओवादी, तराई मधेश जागरण अभियानमा रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले यो अभियानले महिला लगायत आम उत्पीडित वर्ग र समुदायका संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न थप जागरुक, सङ्गठित र आन्दोलित गर्ने कुरा व्यक्त गर्नुभएको छ ।
विज्ञप्तीमा ८ मार्चले महिलामाथि भइरहेका संरचनात्मक हिंसा, दमन, शोषण र विभेदको अन्त्यका लागि प्राप्त अधिकारको कार्यान्वयनतर्फ सचेत र सङ्गठितरूपमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।