• ७ वैशाख २०८२, आइतबार

मर्स्याङ्दी र दोर्दीमा व्यवसायिक अकबरे खेती

blog

अकबरे खेती तालिममा सहभागी मर्स्याङ्दी गाउँपालिकाका किसानहरु । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, फागुन २४ गते ।
लमजुङको मर्स्याङ्दी र दोर्दी गाउँपालिकामा व्यवसायिक अकबरे खुर्सानी खेती अभियान सुरु गरिएको छ । दुई पालिकामा गरेर एक हजार रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिँदै छ । 

दोर्दी गाउँपालिकाले अकबरे खुर्सानी खेतीका लागि ३० लाख रुपियाँ बजेट विनियोजन गरेर व्यवसायीक खेती गर्ने कृषकका लागि ५० प्रतिशत अनुदान दिएको छ । कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढिकरण कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।

गत वर्ष दोर्दी गाउँपालिका–४ कामचोक, बाँसबोट र कुखुरेढुङ्गा गाउँमा अकबरे खुर्सानी गरिएको थियो । गत वर्ष सफल भएपछि यस वर्ष क्षेत्रफल विस्तार गर्न लागिएको अधिकारीले बताउनुभयो ।

गत वर्ष १५ रोपनी क्षेत्रफलमा गरिएको अकबरे खुर्सानी खेतिबाट १२ देखि १५ लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएको दोर्दी साना किसान सहकारी संस्थाका अध्यक्ष सुकबहादुर गुरुङले बताउनुभयो । गाउँपालिकाले गत वर्ष विउ र मल्चिङ प्लाष्टिक खरिदका लागि दोर्दीे साना किसान सहकारीलाई ४० हजार रुपियाँ अनुदान दिएको थियो ।

परीक्षणको रुपमा पहिलो पटक व्यवसायिक अकबरे खुर्सानी खेती सुरु गरेका दोर्दीका किसान यसपटक निकै उत्साहित बनेका छन् । उनिहरुले उत्पादन गरेको खुर्सानीले सहज रुपमा बजार पाएपछि उनिहरु झनै हौसिएका हुन् । गाउँपालिकाले यस वर्ष एउटा वडामा कम्तिमा पनि एकसय रोपनी क्षेत्रफलमा व्यवसायिक अकबरे खुर्सानी खेती गर्ने योजना बनाएको छ ।

मर्स्याङ्दी गाउँपालिकाले यस वर्षबाट अकबरेको व्यवसायिक खेती अभियान सुरु गरेको हो । पालिकाका नौ वटै वडामा खेती गर्नका लागि किसान छनोट गरी तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले बताउनुभयो । छनोट भएका किसानले कम्तिमा एक रोपनी र बढीमा जति क्षेत्रफलमा पनि अकबरे लगाउने छन् ।

अकबरेको व्यवसायिक खेतीका लागि गाउँपालिकाले दश लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले दश लाख रुपियाँ बजेट विनियोजन गरेका छन् । इलामबाट स्थानीय रैथाने जातको विउ ल्याएर विरुवा उत्पादन गरिएको कृषि शाखा प्रमुख विनोद दाहालले बताउनुभयो ।

उत्पादन भएको खुर्सानीको बजार सुनिश्चितता समेत गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । बजारीकरणका लागि पालिकामै मासिक हाटबजारको व्यवस्थासँगै जनता एग्रो कम्पनीसँग बिक्रीको सम्झौता भएको उहाँले बताउनुयो ।

अकबरेको व्यवसायिक खेतीका लागि दुवै पालिकाका किसानहरु जग्गामा मलखाद तथा खनजोत गरि विरुवा रोप्ने तयारीमा जुटेका छन् ।