देवरामप्रसाद यादव
सप्तरी, फागुन २३ गते । सप्तरी प्रहरीले लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रवार लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले पत्रकार सम्मेलनमा गत फागुन १९ गते बिहान १० बजे राजविराज नगरपालिका–९ मलेठस्थित राजनारायण साहको जग्गामा रहेको कम्पाउन्डसहितको गोदाममा प्रहरीले छापा मारेको बताउनुभयो ।
उहाँले सो दिन सप्तरीका प्रमुख जिल्ल अधिकारी भोला दाहालको नेतृत्वमा गएको टोलीले गोदामभित्र बोरा–बोरा प्याक गरिएको अवस्थामा लागूऔषध जस्तो देखिने पदार्थ फेला पारेको पत्रकार सम्मेलनमा बताउनुभयो ।
प्रहरी उपरीक्षक खतिवडाले बरामद गरिएको गाँजा प्रारम्भिक रूपमा २४५१.५ किलोग्राम रहेको पाइएको छ भने प्याकिङका लागि प्रयोग गरिएको प्लास्टिक हटाएपछि लागूऔषधको वास्तविक तौल २४१९.५ किलोग्राम रहेको पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले सोही गोदाम अगाडि भारत, बिहार राज्यको मधुबनी जिल्लास्थित कुर्कुर गोरा, वडा नम्बर १०, छतापुरका ६६ वर्षीय रामनारायण यादवलाई फागुन २१ गते अपराह्न ४ बजे पक्राउ गरिएको बताउनुभयो । उहाँलाई नियन्त्रणमा लिएर जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक खतिवडाका अनुसार, पक्राउ परेका यादव लागूऔषध तस्करीमा संलग्न गिरोहसँग जोडिएको हुनसक्ने आशङ्का रहेको जानकारी दिनुभयो ।