• २५ फागुन २०८१, आइतबार

'सामाजिक नारी आवाज' विमोचन

blog

'सामाजिक नारी आवाज' विमोचन । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, फागुन २३ गते । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा 'सामाजिक नारी आवाज' पुस्तिका विमोचन गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले यहाँका जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका महिलाहरूले महिला अधिकार, लैङ्गिक हिँसा अन्त्य लगायतका विषयवस्तु समेटेर उहाँहरूको विचार प्रकाशन गरिएको छ ।  

पुस्तिकामा स्याङ्जा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरूले लेखेको “लैङ्गिक हिंसाको अन्त्य” शीर्षक समेटिएका कविताहरू समेत समावेश गरिएको छ । 

विमोचन कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले यस पुस्तिकामा स्याङ्जा जिल्लामा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका महिलाहरूको सशक्त विचार र बालिकाहरूको कविता समेटिएको हुँदा महिला अधिकार स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले  महिलाहरूको अधिकार, सशक्तीकरण, लैङ्गिक हिंसाविरुद्धको सचेतना, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले सामाजिक नारी आवाज पत्रिका एक सामाजिक, सांस्कृतिक र जागरुकता सम्बन्धी प्रकाशन भएको र यसले महिला अधिकार, समानता र सशक्तीकरण प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । लैङ्गिक हिंसाको अन्त्य कसरी बन्ने विषय केन्द्रित रहेर महिला नेतृत्वको विचार र विद्यालयका छात्राहरूले कविता यसमा समावेश गरेको हुँदा लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक नारी आवाज एउटा महत्त्वपूर्ण पुस्तिका हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता श्रीकला पौडेल, जनप्रतिनिधि, महिला अधिकारकर्मी, प्रहरी तथा विभिन्न क्षेत्रका महिलाहरूको उपस्थिति थियो । हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवसमा यस वर्ष “सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तीकरण” नारा तय गरिएको छ ।