• २६ फागुन २०८१, सोमबार

‘११:५५’ को ट्रेलर सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २३ गते । केशव पाण्डे निर्देशित चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्रको तीन मिनेट २८ सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्ने प्रवृत्तिलाई कथामार्फत देखाएको छ । चलचित्रका पाँच मुख्य कलाकारलाई ट्रेलरमा रक्तिम अवतारमा प्रस्तुत गरिएको छ । ट्रेलरभित्र धोका, जालझेल र आफ्नो स्वार्थ पूर्तिका लागि जस्तोसुकै कदम चाल्न सक्ने प्रवृत्तिलाई देख्न सकिन्छ । चलचित्रमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र अभिनेता सागर खनालको अभिनय रहेको छ । चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

अल्मोडा राना उप्रेतीको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, रामशरण उप्रेतीको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन र सुवासराज काफ्ले चलचित्रमा प्रोडक्सन डिजाइनरका रूपमा रहनुभएको छ ।