• २५ वैशाख २०८१, मङ्गलबार

विमान दुर्घटना : तस्बिरमा नेपाली सेनाको उद्धार

blog

काठमाडौं, जेठ १७ गते । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान पौडे १० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन-एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको थियो।दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको नेपाली सेनाले जनाएको छ। तारा एयरको जहाज  हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो। थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो।  तारा एयरको जहाज दुर्घटना पश्चात नेपाली सेनाले गरेको उद्धारका केही तस्बिर। 

तस्बिर सौजन्य : नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय