भाइबाहिनीहरू, कोशी प्रदेशमा अवस्थित धरान उपमहानगरपालिका नेपालकै एक सुन्दर तथा सांस्कृतिक विविधता भएको सहर हो । यो सुनसरी जिल्लामा पर्दछ । नेपालमा भएका ११ वटा उपमहानगरपालिका छन् । यो पुरानो सहर हो ।
महाभारतकालीन इतिहास बोकेको र पछिल्लो समयमा किराँत राजधानीका रूपमा रहेको विजयपुर धरान नगरको शिर हो । विजयपुरमा सतीदेवीको दाँत खसेको किंवदन्ती स्वस्थानी व्रतकथामा पढ्न पाइन्छ । महादेवले निधन भएकी पत्नी सतीदेवीलाई बोकेर विभिन्न ठाउँमा जाँदा उनका अङ्ग कुहिँदै खस्दै गरेका थिए । सतीदेवीको दाँत खसेकाले विजयपुरमा दन्तकाली मन्दिर स्थापना भएको किंवदन्ती छ । पाँच सय वर्ष पहिले बङ्गालका राजाले पिण्डेश्वर मन्दिरको जीर्णोद्धार गरेका थिए । त्यसैले यो स्थानलाई पुरातात्त्विक, पौराणिक एवं ऐतिहासिक मान्न सकिन्छ । २०७१ मङ्सिर १६ गते नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय अनुसार साबिकको विष्णुपादुका गाउँ विकास समितिलाई धरान नगरपालिकामा गाभेर धरान उपमहानगरपालिका घोषणा गरिएको हो । धरान उपमहानगरपालिकामा २० वटा वडा छन् । धरानको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा बुढासुब्बा मन्दिर, दन्तकाली, पिण्डेश्वर मन्दिर, विष्णुपादुका रहेका छन् । त्यस्तै भेडेटार, शिवजटा, साँघुरीगढी, पञ्चकन्या मन्दिरलगायतका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र छन् ।
हालको आधुनिक धरान सहर रहेको स्थानमा सुरुमा घना जङ्गल थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरूले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको हो । २०१० सालमा पूर्वाञ्चलका लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भएपछि मुख्य रूपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ । २०१७ सालमा धरान नगरपालिका घोषित भएको धरान, २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकामसमेत घोषित भएको थियो । धरान क्षेत्रमा सुनुवार, राई, लिम्बू, याक्खा जनजातिको बाहुल्य रहेको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले धरान उपमहानगरपालिका विविध जाति तथा जनजातिको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्यातिप्राप्त क्षेत्र भएको जानकारी दिनुभयो ।
धरान शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरका रूपमा विकास हुँदै गएको छ । खाद्य प्रविधिसम्बन्धी विषयमा पठनपाठन गर्न नेपालमा सबैभन्दा पहिले धरानमा क्याम्पस स्थापना भएको थियो । चिकित्सा शिक्षा पढ्न यहाँ मेडिकल कलेज पनि छ । धरान उत्तरको पहाड र दक्षिणको तराई आएर मिलेको ठाउँ हो । समुद्री सतहबाट धरान एक हजार १४८ फिट उचाइमा छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार धरान उपमहानगरपालिकाको जनसङ्ख्या एक लाख ६६ हजार ५३१ पुगेको छ ।
धरान उपमहानगरपालिकाले स्कुल, सडक, खानेपानी विस्तार, फोहोरमैला व्यवस्थापन कार्यलाई प्राथमिकता दिएको छ । स्थानीय तहका जनप्रतिनिधिको नेतृत्वबाट उपमहानगरपालिकाको २० बर्से दीर्घकालीन सोच तयार गरिएको छ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट धरान उपमहानगरपालिकाको नगर प्रमुखमा हर्कराज राई र उपप्रमुखमा अइन्द्रक्रिम बेघा निर्वाचन हुनुभएको थियो । सामाजिक सञ्जालमा नगरप्रमुख हर्कराज राई निकै चर्चित पनि हुनुहुन्छ ।