नेपाली महिलाले यतिबेला देशका सबै क्षेत्रमा अग्रसरता देखाएका छन् । सडकदेखि सदन र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उनीहरूको योगदान उल्लेख्य छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । जसमध्ये पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । त्यसैले हर क्षेत्रमा महिलाको सहभागिता ५१ प्रतिशत हुनुपर्ने माग भइरहेको छ । ३३ प्रतिशतलाई सरकारले समेत स्वीकार गरेको छ । महिलाले गाउँपालिकाको वडा सदस्यदेखि प्रतिनिधि सभाको सभामुख र देशको राष्ट्रपति भएर सफल भूमिका निर्वाह गरिसकेका छन् । सेना र प्रहरीमा समेत महिलाको नेतृत्व र भूमिका प्रभावकारी देखिएको छ । निजामती कर्मचारी र वैदेशिक रोजगारीमा समेत उल्लेख्य सहभागिता छ । साहित्य र पत्रकारितामा समेत महिला गरेको योगदान प्रशंसनीय छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि मात्र स्वतन्त्र पत्रकारिताको थालनी भयो । महिला पत्रकार र साहित्यकारको विकास पनि सँगसँगै सुरु भयो । त्यसअघि सञ्चार माध्यम सरकार नियन्त्रित थिए भने साहित्य र लेखनमा पनि सेन्सरसिप थियो । महिला विचारोत्तेजक साहित्यिक सामग्रीको सिर्जनामा डराउनुपर्ने अवस्था थियो । खासमा साहित्य र पत्रकारिता एकापसमा अन्तर सम्बन्धित रहेका हुन्छन् । अझ त्यसमा पनि साहित्यिक पत्रकारिताको आफ्नै स्थान छ । साहित्यिक पत्रकारिता भने ०४६ सालको राजनीतिक परिवर्तनपछि केही पछाडि परेको छ । साहित्यिक पत्रकारिता अलग्गै नभएर पत्रकारिताका अन्य विधासँग जोडिने गरेको छ । साहित्य विभिन्न पत्रपत्रिकालगायतका विद्युतीय सञ्चार माध्यममा स्तम्भका रूपमा बढी प्रयोग हुने गरेको छ । विशुद्ध साहित्यिक पत्रपत्रिकाको सङ्ख्या न्यून छ । २०४६ सालअघि पनि साहित्यको रचना नभएको होइन ।
खास गरी माया प्रेमका विषयलाई प्रधानता दिएको पाइन्थ्यो भने हाल आएर विचार पक्षले प्रधानता पाएको छ । विचारबिनाको साहित्य आफैँमा निरस हुन्छ । विचारलाई प्रकृति र सामाजिक व्यवहारसँग जोडेर प्रस्तुत गरिँदा त्यसको सामाजिक प्रभाव अर्कै हुन्छ । पछिल्लो समयमा महिला पनि समाजका विभिन्न क्षेत्र र पक्षमा अग्रसर भएका छन् भने अन्तरिक्षमा पुग्ने आँट र साहससमेत राखेका छन् । नेपालका सन्दर्भमा खास गरी सिर्जनाको पक्षमा महिला र पुरुषबिचको भेद क्रमशः हराउँदै गएको छ ।
परापूर्वकालमा पनि महिलाका साहित्यिक सिर्जनाले समाजमा विशेष महìव राख्थे, जुन पाखा र पँधेरामा अभिव्यक्त हुन्थे । पछिल्लो समयमा त्यसलाई पनि लिपिबद्ध गर्न थालिएको छ । २०४६ सालको राजनीतिक परिवर्तनअघिदेखि नै महिला साहित्यिक पत्रकारितामा जोडिएको रूपरेखालगायतका साहित्यिक पत्रिकाले स्पष्ट गरेका छन् । नेपाली साहित्यमा महिला लेखक पनि कम छैनन् । पारिजात, बानिरा गिरि, तोया गुरुङ, सुलोचना मानन्धर, उषा शेरचन, योगमाया न्यौपाने, भुवन ढुङ्गाना, शारदा शर्मा, मोतिलक्ष्मी उपासिका, विमला तुम्खेवा, गीता त्रिपाठी र सरस्वती प्रतीक्षालगायतका सयौँको नाम लिने गरिन्छ ।
नेपाली महिला लेखिकाले लेखेका पाँच साहित्यिक कृतिबारे विशेष चर्चा हुन्छ । पारिजातले लेखेको शिरीषको फूल (उपन्यास) महिलाद्वारा महिला समस्याका बारेमा लेखिएको बेजोड कृति मान्ने गरिन्छ । सन् १९६४ मा प्रकाशित सो कृति पारिजातको पहिलो उपन्यास थियो । जसले सन् १९६५ मै मदन पुरस्कार प्राप्त गरेको थियो । पारिजात नै नेपाली साहित्यमा सबैभन्दा ठुलो पुरस्कार पाउने पहिलो महिला बन्न सफल हुनुभएको छ । नेपाली भाषाको यो उपन्यासलाई सन् १९७२ मा ‘ब्लु मिमोसा’ का रूपमा अङ्ग्रेजीमा पनि अनुवाद गरियो । यसलाई अमेरिकामा पाठ्यक्रममा समेत समावेश गरिएको छ । नीलम कार्की निहारिकाको ‘योगमाया’ अर्को मदन पुरस्कार विजेता उपन्यास हो । जसमा योगमायाको जीवन यात्रा समेटिएको छ । उक्त उपन्यासले सतीप्रथा उन्मूलन गर्न, महिलाविरुद्ध दमनकारी नीति चलाउने र विधवालाई पुनर्विवाह गर्न प्रतिबन्ध लगाउने राणा शासनका विरुद्धमा विद्रोहको शंखघोष गरेको पाइन्छ । जुन उपन्यासले नेपालको महिला अधिकार आन्दोलनको थालनी पनि गरेको थियो ।
कवि तथा उपन्यासकार सरस्वती प्रतीक्षाको ‘नाथिया’ उहाँको पहिलो उपन्यास हो । जुन उपन्यासले दाङ उपत्यकाको उत्तरपश्चिमी भागमा बसोबास गर्ने बादी महिलाको अनुभव, उत्पीडन, पीडा र जीवनलाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ । नेपालकी पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्कीले सन् २०१९ मा लेखेको पहिलो उपन्यास ‘कारा’ पनि विशेष चर्चामा छ । तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्धमा सन् १९९० को जनआन्दोलनमा भाग लिएकी कार्कीले विराटनगर कारागारमा आफैँले कैदीका रूपमा केही समय बिताउनु परेको प्रसङ्गलाई विषयवस्तु बनाइएको छ । सो उपन्यासको परिवेश पनि जेल नै रहेको छ । कार्कीले नेपाली महिला कैदीको पीडा, उत्पीडन, शोक र पीडाको प्रत्यक्ष अनुभूति गर्न पाउनु भएको थियो ।
भुवन ढुङ्गानाले लेखेको उपन्यास ‘परित्यक्ता’ अर्को विशेष औपन्यासिक कृति हो । सन् २०२० मा प्रकाशित सो उपन्यासले आफ्नो जीवनमा छोरी, श्रीमती र आमाको धेरै भूमिका निर्वाह गर्ने र सधैँ एक्लोपनमा ठक्कर दिने महिलाको भित्री भावना र विचारलाई उजागर गरेको छ । मञ्जुश्री थापाको ‘हामी सबै हाम्रो आफ्नै जीवनमा’ कृतिलाई पनि महिलाद्वारा लेखिएको विशेष कृति मानिन्छ । टेलिभिजनमा हेरेका, पत्रपत्रिकामा पढेका वा केसस्टडी लेख्ने सबै पात्रलाई थापाले एउटै कथामा ल्याउन सफल हुनुभएको छ ।
नेपालका अधिकांश सञ्चार माध्यममा महिलाको सङ्ख्या उल्लेख्य छ । जसमा महिला सम्पादक, स्तम्भ लेखक, समाचार वाचिका, कम्प्युटर अपरेटर, क्यामेराम्यान र श्रव्य तथा दृश्य सम्पादनलगायतका क्षेत्रमा क्रियाशील छन् । पछिल्ला समयमा गरिएका कतिपय अध्ययनले नेपालका सञ्चार माध्यममा महिलाको सहभागिता करिब १८ प्रतिशतभन्दा माथि रहेको आकलन गरिन्छ । जसले महिलालाई साहित्य र लेखनको क्षेत्रमा प्रेरित गर्नुका साथै परिपक्व बनाउँदै लगेको छ । नेपालका कतिपय टेलिभिजनमा महिलाले गहन विषयमा राजनीतिक संवादको संयोजन र प्रस्तुतिसमेत गरेको पाइन्छ । महिलाले पत्रपत्रिकामा लेखेका सामग्री क्रमशः परिस्कृत बन्दै गएका छन् । उनीहरू सुरुमा साहित्यका माध्यमबाट लेखनका क्षेत्रमा प्रवेश गरे पनि क्रमशः स्थापित लेखक बन्दै गएको देखिएको छ । सुरुका दिनमा खास गरी ०४६ सालको राजनीतिक परिवर्तनअघि नै प्रेमकुमारी पन्तलगायतका महिलाले आफ्नै सम्पादन र प्रकाशनमा पत्रिका सञ्चालन गरेको देखिएको थियो भने हाल आएर बबिता बस्नेतलगायतका महिला सम्पादकको भूमिकामा छन् ।
टेलिभिजनमा महिला समाचार प्रस्तोता दिनप्रतिदिन बढिरहेका छन् भने उनीहरूको समाचार संयोजन तथा वाचन प्रभावकारी बन्दै गएको छ । नेपालका प्रभावशाली सञ्चार माध्यममा कतिपय महिलाले खोजी पत्रकारितालाई अगाडि बढाएको छ । विषयवस्तुको भित्रसम्म पुगेर र त्यसलाई पछ्याएर प्रस्तुत गर्ने काममा महिला पत्रकारको भूमिका उल्लेख्य छ । गीत/सङ्गीतको क्षेत्रमा पनि महिला सहभागिता बढ्दो छ । जहाँ कलाकारका रूपमा मात्र नभएर उनीहरूले फिल्म निर्देशक, पटकथा लेखन र प्रस्तुतिमा समेत आफूलाई स्थापित गर्दै लगेको देखिएको छ । उनीहरूले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमासमेत आआफ्नो प्रतिभाको प्रदर्शन गरिरहेका छन् ।
नेपालका कतिपय महिला पत्रकार तथा साहित्यकार यतिबेला अमेरिका, क्यानडा, जापान र अस्ट्रेलियालगायतका देशमा रहेर कलम चलाइरहेका छन् । त्यहाँ पनि उनीहरूको विषय वस्तु प्रायः नेपालकै गाउँ बस्ती, पाखा पखेरा र प्राकृतिक सौन्दर्य रहने गरेको पाइन्छ । खास गरी चीन, भारत, अमेरिका र अस्ट्रेलियाबाट सञ्चालित सञ्चार माध्यममा नेपाली महिलाको उल्लेख्य सहभागिता छ । कतिपय महिला अधिकारका लागि आन्दोलन गर्दागर्दै स्थापित लेखक र सञ्चारकर्मी भएका छन् । उनीहरूले आन्दोलनको अग्रमोर्चामा रहेर आफू र आफू जस्तै अन्य महिलाले निर्वाह गरेको भूमिकालाई लेखनका विभिन्न विधामा उतारेका छन् ।
ग्रिष्मबहादुर देवकोटाद्वारा लिखित नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहासका अनुसार नेपाली छापा पत्रकारिताको इतिहासमा पहिलो महिला पत्रकारका रूपमा साधना प्रधान र कामक्षा देवीलाई लिइन्छ । उहाँहरूले २००८ सालमा ‘महिला’ मासिकको सम्पादक भएर काम गर्नुभएको थियो । प्रियम्बदा शर्माको सम्पादन तथा कन्यामन्दिर हाइस्कुल साहित्य विभागको प्रकाशनमा ‘प्रभा’ नामक नेपाली भाषाको मासिक पत्रिका २००८ सालको असोज र श्रीमती कुन्ती देवीको सम्पादन तथा अखिल नेपाल महिला सङ्घको प्रकाशनमा ‘प्रतिभा’ नामक नेपाली भाषाको मासिक पत्रिका २००९ सालको भदौ १६ गते प्रकाशित भएको थियो ।
त्यसै गरी २०१० सालमा रमादेवी पन्त ‘जनविकास’ (मासिक) पत्रिकाको सम्पादक तथा प्रकाशकका रूपमा देखिनुभएको थियो । त्यसै गरी २०११ सालमा प्रकाशित भएको ‘जनसाहित्य’ (द्वैमासिक) पत्रिका पनि रमादेवीले नै निकाल्नुभएको पाइन्छ । महिलाका मुद्दा उठान गर्न सुसन मास्के र अञ्जु क्षेत्रीले अस्मिता महिला प्रकाशन गृह स्थापना गर्नुभएको थियो । उहाँहरूले २०४५ वैशाखमा महिला प्रधान पत्रिका ‘अस्मिता’ को पहिलो अङ्क बजारमा ल्याउनुभएको पाइएको छ । पत्रकार सम्बद्ध सङ्घसंस्थामा महिलाको उपस्थिति र नेतृत्व तहमा उनीहरूको पहुँच पनि बढ्दै गएको छ ।
हाल नेपाल पत्रकार महासङ्घको सभापतिमा निर्मला शर्मा रहनुभएको छ भने अन्य पदमा पनि महिला पत्रकारको सहभागिता उल्लेख्य छ । नेपाल पत्रकार सङ्घको २०१९ असोज १५ मा चयन भएको सात सदस्यीय कार्य समितिमा त्रैमासिक पत्रिका ‘स्वास्नी मान्छे’ का सम्पादक शशिकला शर्मा सदस्य भएर सङ्घकै पहिलो महिला सदस्य हुनुभएको थियो । २०४३ सालमा महिला सदस्यका रूपमा ‘कल्पवृक्ष’ की सम्पादक चन्द्रकला ‘आँचल’ मनोनीत हुनुभएको थियो । २०४६ सालमा गठित १५ सदस्यीय कार्यसमितिमा ‘द विक्ली मिरर’ की प्रकाशक/सम्पादक प्रेमकुमारी पन्त रहनुभएको थियो ।
त्यसै गरी २०४९ देखि २०५२ सालको २१ सदस्यीय कार्यसमितिमा खुला प्रतिस्पर्धाबाट ‘गोरखापत्र’ दैनिककी हरिकला अधिकारी सदस्यमा निर्वाचित हुनुभएको थियो । राधा बुढाथोकी नेपाल पत्रकार महासङ्घको २०५२ देखि २०५४ सालको १८ सदस्यीय कार्यकारी समितिमा उपसभापतिमा निर्वाचित हुनुभएको थियो । नेपाल पत्रकार महासङ्घको तथ्याङ्क अनुसार नेपालका कुल पत्रकारमध्ये महिला १८.४१ प्रतिशत मात्र रहेका छन् । तथापि एकातिर उक्त सङ्ख्या बढ्दै गएको छ भने अर्कातिर उनीहरूको प्रभावकारिता पनि बढेर गएको देखिएको छ । यो महिलाको उज्यालो पक्ष हो । जसले संसारलाई अझ अगाडि बढ्ने बाटो देखाउने निश्चित छ ।