• २० फागुन २०८१, मङ्गलबार

विद्यालय–विद्यालय पुगेर विद्यार्थीको आँखा परीक्षण

blog

साब्लाखुस्थित सिंहदेवी आधारभू विद्यालयमा सञ्चालित आँखा शिविरका सहभागी विद्यार्थी।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २० गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विद्यालय विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण गर्न सुरु गरिएको छ। आँखामा समस्या भए समयमै निदान गर्न विद्यालय विद्यालयमा पुगेर बालबालिका अर्थात विद्यार्थीको आँखा परीक्षण गर्न थालिएको हो।

सिदिङ्वा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरी विद्यार्थीको आँखा परीक्षण गर्न थालिएको हो। गाउँपालिकाका सबै वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गर्नेगरी सोमबारदेखि शिविर सुरु गरिएको छ।

शिविरको दोस्रो दिन मङ्गलबार (आज) वडा ३ आङ्खोपमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको छ। शिविरमार्फत आङ्खोपमा रहेका सिंहेश्वरी माध्यमिक विद्यालयसहित छ वटा विद्यालयमा अध्ययनरत ३६३ जना विद्यार्थीको आँखा परीक्षण गरिएको सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी दिनुभयो। 

स्वास्थ्य शाखा प्रमुश शाहका अनुसार आङ्खोपमा १९५ जना छात्रा र १६८ छात्रको आँखा परीक्षण गरिएकोमा नौ जना विद्यार्थीमा दृष्टिदोष देखिएपछि उनीहरुलाई चस्मा वितरण गरिएको छ। यस्तै सामान्य समस्या देखिएका १३ जना विद्यार्थीको आँखा उपचार गरिएको उहाँले जानकारी दिनुभो।

शिविरको पहिलो दिन सोमबार वडा ४ साब्लाखुस्थित सिंहदेवी आधारभूत विद्यालयमा शिविर सञ्चालन गरी २८२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ। उक्त दिन साब्लाखुभित्रका छ वटा र वडा लिम्बुदिनका दुईसमेत आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हो। परीक्षणका क्रममा दृष्टि दोष देखिएका तीनजना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गएिको छ भने छ जना विद्यार्थीको आँखामा समस्या देखिएपछि उपचार गरिएको थियो।

 शाखा प्रमुख शाहका अनुसार गाउँपालिकाका सातवटै वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गर्नेगरी शिविर सुरु भएको हो। फागुन २७ गते सम्ममा विद्यालय–विद्यालय पुगेर आँखा शिविर सञ्चालन गर्नेगरी तालिका रहेको गाउँपालिकाले जनाएको छ। डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्षेत्र कार्यकर्ता काजी थेबे लगायतले शिविरमा आँखा परीक्षण गर्दै आउनुभएको छ।