• १६ वैशाख २०८१, आइतबार

विद्यालय समयमा पनि कवाडी सामान टिप्दै बालबालिका

blog

कबाडी सामाग्रीहरु सङ्कलन गर्दै बालबालिका, तस्बिरः जीबछ यादव

जीबछ यादव 

लहान, जेठ १७ गते । लहानको मुख्य चोकमा विद्यालय समयमा मुसहर समुदायका बालबालिका होटल नजिकमा यत्रतत्र फालेका कवाडीका सामानहरु टिपिरहेका हुन्छन् । 

पानीको खुला बोटल, रेडबुलको खाली डिबा, फलामका टुक्राहरु बोरामा सङ्कलन गरेर नजिकै रहेको विभिन्न कवाडी केन्द्रहरुमा बेच्न पुग्छन् । दिनको तीन सय रुपियाँसम्म कमाउन सकिने कुरा लहान–१ का जयकुमार सदाय, चन्चा सदाय र लिरवा सदायले बताएका छन् । 

विद्यालयमा एक महिनामा दुई चार दिन मात्र विद्यालय जाने र अरु दिन काम गर्ने गरिएको उनीहरुले बताएका छन् । 

करिब १२ वर्षका मुसहर समुदायको बालबालिकाहरु विद्यालय छाडेर कवाडी संकलन गरिरहँदा पनि बालश्रम रोक्न र बालअधिकार सुरक्षित गर्न कसैको नजर नपर्नु विडम्बनापूर्ण रहेको महिला अधिकारकर्मी रेणु कर्णले प्रतिक्रिया दिनुभयो । 

मुसहर समुदायको बालबालिकाहरुलाई खाना पोशाकसहितको व्यवस्थापन गरेर पढाईप्रति आकर्षण जगाउनुपर्ने धारणा लहान–२ का सुकदेव सदायको रहेको छ । 

विद्यालयमा नियमित आउन घरघरमा गएर अभिभावकलाई पटक पटक अभिमुखीकरण गरे पनि विद्यालयमा आउन बेवास्ता गरिएको लहान–१ स्थित श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीनारायण चौधरीले बताउनुभयो । 

मुसहर समुदायको बालबालिकाले गरिरहेका बालश्रममुक्त गराउन शिक्षा चेतनाको कार्यक्रम गर्न स्थानीय निकायको ध्यान आकर्षण गराउने लहान–२१ का वडाध्यक्ष राज कुमार यादवले बताउनुभयो ।