प्रिय प्रकृति, यति कलिलो उमेरमा प्रकृतिमै विलीन हुन पुग्यौ तर घटनाको निष्पक्ष छानबिन होस् ।
प्रजातन्त्र दिवसका दिन सङ्घीयताबारे पाठ पढाएर घर फर्किंदै थिएँ । सङ्घीयताको सबल पक्ष र चुनौती पुस्तकबाट उद्धृत गर्दै केही उदाहरण पनि विद्यार्थीसामु पस्किएँ । आफू सन्तुष्ट नै हुन सकिनँ, के संविधानले भनेबमोजिम हामी जनताले सुविधा पाएका छौँ त ? कागजका पानामा जे छन्, उत्कृष्ट र महत्वाकाङ्क्षी छन् । के ती व्यवहारमा लागु हुन सक्लान् त ? नेपाल अधिराज्यको संविधान २०४७ ले १३ वटा मौलिक हक भने पनि नेपालको संविधान २०७२ ले १८ वटा मौलिक हक थप गरेर ३१ वटा पुगे । जनतामा त्यसको केही अंश मात्र लागु हुन सके हामी जनता धन्य हुने थियौँ । गाँस, बास र कपास मानिसका आधारभूत तत्वसँगै स्वास्थ्य र शिक्षालाई पनि लिइन्छ । आधारभूत र माध्यमिक शिक्षासम्म त प्रायः सबै विद्यार्थी नेपालमै पढ्दै छन् तर ११ को जाँच सकिँदासकिँदै हाम्रा बाबुनानी कहाँ र कुन देश गएर पढ्ने भनी आफू सोच्न विवश छन् । १२ पढ्दा त अन्यत्रको परीक्षाको पनि तयारी गर्ने परिपाटी नै अचेल बसेको छ ।
धेरै अभिभावकलाई आफ्ना सन्तान सँगैसँगै हुन् भन्ने लाग्छ भने कुनै अभिभावकलाई उनीहरूको ‘पखेटा’ खुला छोडिदिनु पर्छ, उड्न दिनु पर्छ भन्ने लाग्छ । यी दुई अभिभावकका बिचका अभिभावकले पढ्न दिनु पर्छ तर टाढा पठाउनुभन्दा भारत ठिकै हुन्छ, परेका बेला आफू जान नि सकिन्छ, आफ्नो रहनसहन मिल्ने भनेर पनि भारत हाम्रो देशबाट पढ्न जानेको गन्तव्य बनेको छ । भारतको मानव संसाधन विकास मन्त्रालय (एचआरडी) ले २०१९ मा गरेको सर्वेक्षण अनुसार भारतमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये सबैभन्दा धेरै विद्यार्थी नेपालबाट अध्ययन गर्न गएको देखिन्छ ।
सर्वेक्षण अनुसार कुल ४७,७२४ अन्तर्राष्ट्रिय विद्यार्थी विभिन्न शैक्षिक संस्थामा भर्ना भएका थिए, जसमा १३ हजार विद्यार्थी नेपालबाट अध्ययन गर्न गएको प्रतिवेदनले बताएको छ । प्रतिशतमा गणना गर्दा २६.८८ प्रतिशत हुन्छ । पाँच वर्षको औसत हिसाब गर्दा ६५ हजार नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्न भारतमा जाने गरेको देखिएको छ । यो तथ्याङ्क अनुसार भारतमा नेपालबाट अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा नै छ । पङ्क्तिकार पनि भारतमै अध्ययन गरेर आएको हो । मैले स्नातक तह आफ्नै खर्चमा गरेको हो, स्नातकोत्तर छात्रवृत्ति कोटामा गएको हो । बिस्तारै दक्ष जनशक्ति आफ्नै देशमा सदुपयोग गर्न सके विद्यार्थीको उज्ज्वल भविष्यका लागि अन्यत्र पढाइको गन्तव्य बनाउन आवश्यक देखिँदैन ।
भारतमा आकर्षणमध्येको विषय आइटीको पढाइ त उत्कृष्ट नै मानिन्छ । बैङ्ग्लोर त आइटीको मुख्य सहर नै भनिन्छ । आइटी या टेक्निकल विषय अध्ययन गर्न भारतका विभिन्न प्रान्तमा नाम चलेका आइटी, इन्जिनिरिङ र मेडिकल संस्था खुलेका छन् । निजी संस्थालाई भारतीय विद्यार्थीपछि नेपालका विद्यार्थीलाई आफ्नो संस्थामा भर्ना गराउन विभिन्न शैक्षिक मेला गराई, आकर्षित शैक्षिक प्याकेज देखाएर विद्यार्थीलाई आफ्नो संस्थामा भर्ना गराउने लहर नै चलेको छ । यो विषयमा राज्यको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।
त्यसैले होला रुपन्देही जिल्ला सिद्धार्थनगर–८, बैङ्क कोलोनी बस्ने प्रकृति लम्साल भारतको ओडिसामा रहेको केआइआइटी कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजीमा पढ्न गएकी थिइन् । कस्तो लक्ष्य लिएर गएकी थिइन् होला ! दुःखद घटना यही २०८१ फागुन ४ मा उनलाई मृत भेटियो । उनले आफैँ आत्महत्या गरेकी हुन् भनेर विश्वविद्यालय प्रशासनले भने पनि त्यहाँ रहेका नेपाली विद्यार्थी घटनाको छानबिन गरी निष्पक्ष निर्णयको शान्तिपूर्ण आन्दोलन गर्दा उनीहरूलाई तुरन्त होस्टेल खाली गरी जान लगाइयो । सो वचन नमान्ने छात्रछात्रालाई सोही संस्थाका प्राध्यापकले तथा अन्य कर्मचारीले तिमीहरूको देशको बजेटभन्दा हाम्रो विश्वविद्यालयको बजेट धेरै छ भन्दा मलाई फेरि सङ्घीयतामा प्रश्न गर्न मन लाग्यो । कागजी स्वरूपमा सङ्घीयता त साह्रै लोभलाग्दो छ तर के व्यवहारमा लागु भएको छ त ? उनीहरूले विद्यार्थीलाई मात्र नभई सारा राष्ट्रमाथि नै प्रश्न उठाए । अब पनि नसोच्ने हो भने कहिले सोच्ने ?
देशमा सार्वजनिक ऋण ‘अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय’ ले प्रकाशित गरेको प्रतिवेदन अनुसार २०८१ पुससम्म २५/२६ खर्ब पुगेको छ । वैदेशिक शिक्षाका लागि नेपालबाट बर्सेनि अर्बौं रुपियाँ बाहिरिन्छ । हामीले यसरी बाहिरिने जनशक्ति रोक्न सक्यौँ भने मुद्रा चलायमान गराउन सकिन्छ । हाम्रो अस्तित्व नै नेपाली हुनुमा छ, नेपाल राष्ट्र रहे न हामी नेपाली रहन्छौँ, केहीबेर सोचौँ त !
केही समयअगाडि पुल्चोकलगायत अन्य इन्जिनियरिङ क्याम्पसमा छात्रवृत्तिका सिट खाली गएको समाचार सम्प्रेषण भएको सम्झिएँ र सरकारसमक्ष केही सुझाव राख्न चाहन्छु :
– विद्यार्थीलाई विश्व परिवेशमा भएका नयाँ नयाँ पाठ्यक्रम समावेश गरी नेपालमै पढ्ने वातावरण मिलाइयोस् ।
– पढाइ व्यावहारिक होस्, जसले विद्यार्थी स्वदेशमै पढी जीविकोपार्जन गर्न सक्षम हुन् ।
– विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग एमओयु गरी केही समय मात्र विद्यार्थी सो राष्ट्रमा जाने तर धेरै समय यही आफ्नै देशमा बस्ने वातावरण बनाऔँ ।
– समयमा परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गरौँ ।
– शैक्षिक पात्रो पहिले निर्धारण गरी सोही अनुसार पढाइ हुने वातावरण निर्माण गरौँ ।
केआइआइटीका विद्यार्थी, जसले आफ्नो जुनियर सिनियर साथी गुमाएका छन् र निडर भई आन्दोलनमा होमिएका छन् उनीहरूलाई सुरक्षित महसुस गराइनु पर्छ । सरकारले देशमै पढ्ने इच्छा जाहेर गरेका विद्यार्थीलाई मिल्छ भने यही पढाउने वातावरण बनाउन सके उनीहरूलाई अभिभावक साथमै छन् भन्ने महसुस हुने छ । अहिले पूर्वाञ्चल र त्रिभुवन विश्वविद्यालयको नियममा रही विद्यार्थी भर्ना गर्ने ‘क्रेडिट ट्रान्सफर’ भन्ने सूचना स्वागतयोग्य छ । हाम्रो सिङ्गो देशमा प्रश्न उठान गर्नेलाई जवाफ दिनुपर्ने नै देखिन्छ । हरेक जनताले अभिभावकको महसुस गर्न चाहन्छन् । नेपाल, भारतलगायत अन्य मुलुकमा तरङ्ग ल्याएको यो घटनाले अभिभावक र समग्र राष्ट्र हाँक्ने राष्ट्रका अभिभावकले सही निर्णय गरेको देख्न पाइयोस् । सङ्घीय, प्रादेशिक र स्थानीय सरकार गाउँ गाउँमा सिंहदरबार भन्ने भनाइ शब्दमा मात्र होइन, व्यवहारमा पनि लागु होस् ।
राष्ट्रिय हितको विषय सम्बन्धमा दलीय विभाजन गरिनुहुन्न, हरेक दलको आवाज देशको हितका लागि हुनु पर्छ । नेपालको संविधान २०७२ को प्रस्तावनामा भनिए अनुसार नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वभाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता स्वशासन अधिकारलाई आत्मसात् गर्दै विशेष राष्ट्रको हितमा सबै समर्पित हुनु पर्छ । राष्ट्रको हितमा सबै एकमत हुन जरुरी छ । प्रकृतिको आत्माले शान्ति पाओस् । दोषीमाथि कडा कारबाही होस् । उनको न्याय र निष्पक्ष छनबिनका लागि लडिरहेका नेपाली तथा भारतीयलाई नमन छ ।