• २० फागुन २०८१, मङ्गलबार

सुदूरपश्चिम स्पोर्टस् अवार्ड चैतमा

blog

अवार्डका लागि सम्झौता गरिँदै ।

काठमाडौँ, फागुन १९ गते । ‘सुदूरपश्चिम स्पोर्टस् अवार्ड-२०८१’ आगामी चैत ७ गते आयोजना हुने भएको छ । 

छैटौँ संस्करणको अवार्ड आगामी चैत ७ गते हुने गरी तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताउनुभयो ।

‘सुदूरपश्चिम स्पोर्टस् अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘छैटौँ संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौँ । यसपाली खुला मैदानमा अवार्डलाई आयोजनाको तयारी थालेका छौँ ।’

अवार्डमा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मञ्चका कोषाध्यक्ष नवराज पनेरुले बताउनुभयो । 

उहाँकोअनुसार उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफटाईम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार रुपियाँबाट पुरस्कृत गरिनेछ । 

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार रुपियाँसहित ट्रफी प्रदान गरिनेछ । अवार्डलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले साथ दिएको छ । 

अवार्ड कार्यक्रमलाई हरेक बर्ष प्रबद्र्धन गर्दै आएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले यसपाली पनि मुख्य प्रबद्र्धक भएर साथ दिएको हो । परिषद्का सदस्य सचिव सिंहले खेलकुद पत्रकार मञ्चसँग मिलेर खेलाडी र प्रशिक्षकको मनोवल बढाउने काम भइरहेको बताउनुभयो ।