बेरुत, लेबनान, फागुन १९ गते । लेबनानका राष्ट्रपति जोसेफ खालिल औनले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि सोमबार साउदी अरबको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँले यसै वर्ष जनवरीमा लेवनानको राष्ट्रपतिका रूपमा सपथ गर्नुभएको थियो ।
रियाद र वासिङ्टनको समर्थनप्राप्त पूर्व सेना प्रमुख औन जनवरी ९ मा लेबनानको राष्ट्रपति निर्वाचित हुनुभएको थियो । उहाँको निर्वाचनले लेबनानमा राजनीतिक र आर्थिक सङ्कटका बिच दुई वर्षभन्दा बढी समयदेखिको शक्ति शून्यता अन्त्य गरेको थियो । इजरायलसँगको विनाशकारी युद्धका क्रममा लेबनानको इरान समर्थित हिजबुल्लाह कमजोर भएपछि उहाँको निर्वाचन सम्भव भएको थियो ।
उहाँको कार्यालयका प्रवक्ताले एएफपीसँग भन्नुभयो, “लेबनान र समग्र अरब क्षेत्रको सुरक्षा तथा कुटनीतिक सम्बन्ध र लेबनानका लागि साउदी अरबको सैन्य सहायतालाई नवीकरण गर्न उहाँको भ्रमण फलदायी हुने विश्वास गरिएको छ ।” लेबनान र साउदी अरबबिचको सम्बन्ध वर्षौंदेखि तनावपूर्ण रहँदै आएको छ ।
सन् २०१६ मा रियादले लेबनानी सेनालाई दिइने तीन अर्ब अमेरिकी डलरको सैन्य सहायता रोकेको थियो । “मेरो भ्रमणका क्रममा म सम्भव भएसम्म सैन्य सहायता पुनः सक्रिय बनाउन प्रयास गर्नेछु,” औनले साउदी अखबार अशरक अल अवसातलाई शुक्रबार दिएको अन्तर्वार्तामा भन्नुभएको थियो ।
लेबनानसँगको ‘ऐतिहासिक सम्बन्ध’ र क्षेत्रीय तथा विश्वव्यापी खेलाडीको रूपमा साउदी अरबको भूमिकाका कारण आफूले साउदी अरबलाई आफ्नो पहिलो गन्तव्यका रूपमा रोजेको राष्ट्रपति औनले बताउनुभयो । उहाँले भन्नुभयो, “साउदी अरबले हामीलाई दुबै देशको हितमा सम्बन्ध पुनर्स्थापित गर्न र हालका अवरोधहरू पार गर्न मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ ।”
लेबनानले ‘भिजन २०३०’ अर्थात् तेलभन्दा बाहिरको अर्थतन्त्रलाई विविधीकरण गर्ने रियादको पहलसँग सहकार्य गर्न सक्ने बताउँदै उहाँले ‘सामान्य आर्थिक सम्बन्ध निर्माण’ हुनेमा आशा व्यक्त गर्नुभयो । “यसले साउदी नागरिकहरूलाई आफ्नो दोस्रो घर लेबनान फर्कन अनुमति दिनेछ भने लेबनानीहरू पनि साउदी अरबसँग पुनः जोडिन उत्सुक छन्,” उहाँले भन्नुभयो ।
लेबनानमा सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि हतियार राख्ने एक मात्र समूह हिजबुल्लाह लेबनानमा प्रमुख शक्तिका रूपमा रहँदै आएको छ । औनले ‘सकारात्मक तटस्थताको नीति’ र ‘अरब देशहरूसँग सर्वोत्तम सम्बन्ध’ को पनि प्रतिज्ञा गर्नुभयो । रासस/एएफपी