• २० फागुन २०८१, मङ्गलबार

सुशील र सुनिता चौधरीलाई थारू साहित्य पुरस्कार

blog

पुरस्कार ग्रहण गर्नुहुँदै सुशील चौधरी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १८ गते। बर्दियाको राजापुर नगरपालिका २ जोतपुरमा सम्पन्न भएको औँ थारु साहित्य राष्ट्रिय सम्मेलनमा थारु स्रष्टा सुशील चौधरीलाई ५० हजार रुपियाँको थारु साहित्य पुरस्कार र सुनिता चौधरीलाई २५ हजारको महिला ‘प्रतिभा’ शसक्तिकरण पुरस्कार प्रदान गरिएको छ। 

थारु लेखक संघ नेपाल तथा जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा सम्पन्न भएको सो सम्मेलनमा थारु लेखक संघ नेपालबाट स्थापित यस वर्षको थारु साहित्य पुरस्कार बर्दिया, मयूरबस्तीका स्रस्टा सुशील चौधरीलाई तथा महिला ‘प्रतिभा’ सशक्तिकरण पुरस्कार बेलौरी–७, कञ्चनपुरकी अभियन्ता सुनिता चौधरीलाई प्रदान गरिएको हो। 

थारु साहित्य पुरस्कार ५० हजार रुपियाँ तथा महिला ‘प्रतिभा’ सशक्तिकरण पुरस्कार २५ हजार रहेको जंग्रार साहित्यिक बखेरी बर्दियाका अध्यक्ष सोम डेमनडौराले बताउनुभयो। 

पुरस्कृत हुनु भएका दुबैजनालाई थारु राष्ट्रिय आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्व मन्त्री गोपाल दहित, डा. कृष्णराज सर्वाहारी लगायतले दोसल्ला ओढाएर प्रमाणपत्र तथा नगद प्रदान गर्नु भएको थियो। 

५० हजार राशीको थारु साहित्य पुरस्कारबाट पुरस्कृत हुनुभएका सुशील चौधरी केही वर्षदेखि बिरामी हुनुहुन्छ। २०७३ सालमा दाङबाट सुरु भएको थारु साहित्य राष्ट्रिय सम्मेलन गत वर्षको आठौं संस्करण सुनसरीको गढीमा आयोजना गरिएको थियो भने यस वर्ष बर्दियाको राजापुरमा भएको हो। 

नौ बुँदे राजापुर घोषणा पत्र जारी गर्दै ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न भएको थारु लेखक संघ नेपालले जनाएको छ।