• २० माघ २०८१, आइतबार

पहिरोको डरैडर

स्थानान्तरणको आसमा गाउँले

blog

बाजुरा, जेठ १७ गते । वर्षा सुरु भएसँगै बाजुराका बाढीपहिरो जोखिम क्षेत्रका बासिन्दा त्रसित बन्न थालेका छन् । आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन प्रभावित क्षेत्रका बासिन्दाले माग गर्दै आएको भए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।

२०७८ सालको जेठ, असार, साउन र भदौमा पटक–पटक आएका बाढीपहिरोले बाजुराको नौवटै स्थानीय तहमा भौतिक तथा मानवीय क्षति पु¥याएको थियो । बाढीपहिरोपीडितलाई सरकारले स्थानान्तरणको कुनै व्यवस्था अहिलेसम्म गर्न सकेको छैन । पीडितहरूले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सुरक्षित ठाउँमा स्थानान्तरणको माग गर्दै आएका छन् ।

बाढीपहिरोले जीर्ण बनेको घरमै बस्दै आएका पीडितहरू वर्षासँगै त्रसित छन् । बाजुराको बूढीनन्दा, त्रिवेणी गौमूल, बडिमालिका, बूढीगङ्गा खप्तड छेडेदह गाउँपालिकाका पहिरोपीडित परिवार यस समस्याबाट पीडित रहेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ को पारतोला बस्ती त यो वर्ष सुक्खा पहिरोको उच्च जोखिममा परेको थियो । २०७८ सालको माघ महिनाको पहिलो सातादेखि बस्तीको माथिबाट लगातार सुक्खा पहिरो गएपछि सो बस्ती जोखिममा परेको थियो ।

खप्तड छेडेदह गाउँपालिकाको गुइबन बस्ती पनि लामो समयसम्म पहिरोको निकै जोखिममा रहँदै आएको छ । २०५६ सालदेखि सो बस्तीको झन्डै सय भन्दाबढी परिवार पहिरोको जोखिममा बस्दै आएको छ । अहिलेसम्म त्यो बस्तीको स्थानान्तरण हुन सकेको छैन । हिउँदमा पहिरो नलाग्ला भन्ने सोचमा गाउँ फर्केका सो बस्तीका स्थानीयको पनि हालत उस्तै देखिन्छ । स्थानीय सुन्तला रावतले आफ्नो दुखेसो पटक–पटक सरकारसँग राखे पनि खासै चासो नदिएको बताउनुभयो । 

उहाँका अनुसार गुइबन बस्तीमा पहिले झन्डै दुई सय घरपरिवार थिए । जब गुइबनबाट पहिरो लाग्न सुरु भयो, त्यो पहिरोले कति घर बगायो, कतिको जमिन बगायो, अनि बिस्तारै ती घरपरिवार विस्थापित् भए । उहाँले गुनासो गर्नुभयो, “हामी भने अहिलेसम्म कतै गएका छैनौ, जाने पनि कसरी ? कहीँ कतै हाम्रो पहुँच छैन । अन्य ठाउँमा जग्गा लिएर बसोबास गरौँ भने पैसा छैन ।”

कुनै विकल्प नभएपछि त्रासमय जीवन जिउन बाध्य हुनुपरेको रावतले बताउनुभयो । अहिले पनि गाउँ पछाडिबाट फेरि पहिरो बग्न सुरु भएपछि गत वर्षामा झै घर छोडेर अन्य सुरक्षित स्थानमा जान बाध्यता भएको गुइबनका स्थानीय पदम रावतले बताउनुभयो ।

खप्तड छेडेदह–५ को पारतोला, डोगडी, गुइबन, टम्टाना, लगायतका दर्जनौ बस्तीका स्थानीय वर्षाको समयमा बाढीपहिरोको निकै जोखिममा रहेका छन् । बर्खा बाढीले वारिपारि काट्दै जाने र गाउँमाथिबाट पनि पहिरो लाग्ने गरेकाले हिउँद वर्षामै बस्ती जोखिममा परेको रावतले बताउनुभयो । 

बूढीगङ्गा नगरपालिका बजेडी, निमनी, ताँप्रिसेरा र अम्कोट बस्ती पनि पहिरोको जोखिममा छन् । त्यहाँका स्थानीयहरू गत वर्षको बर्खामा गाउँमाथिको वनमा त्रिपाल टाँगेर बास गर्दै आएका थिए । यति बेला वर्षात् सुरु भएपछि फेरि पहिले जस्तै गाउँमा पहिरो जाने हो कि भन्ने डर पस्दै गएको बूढीगङ्गा नगरपालिका–१, अम्कोटका दरिभाने नेपालीले बताउनुभयोे ।

उहाँले भन्नुभयो, “लतबाट पहिरो बगेर गाउँसम्म पुग्न लागि सक्यो । रातमा हामी सबै पहिरोमा पुरिने पो हौ कि भन्ने चिन्तामै रात बिताउँदै आएका छौँ ।” केही वर्ष पहिलो त्यो ठाउँमा पहिरो रोक्नका लागि घाँस तथा बीचबीचमा तारजाली राखिएको भए पनि पहिरोे रोकिएको छैन । तटबन्धन गरेर पनि पहिरो नरोकिएपछि अहिले त्यो बस्तीलाई अन्य ठाउँमा स्थान्तरण गर्नुबाहेक अन्य केही  विकल्प नरहेको नेपालीले बताउनुभयो ।

बडिमालिका नगरपालिका घाँगर, ओलेना तिपाडा मना कोर्धलगायतका बस्ती नदी कटान तथा बाढीपहिरोको जोखिममा रहेका छन् । बाजुराका नौवटै स्थानीय तहमा जोखिमका ती बस्ती स्थानान्तरण लागि गत वर्ष नै तथ्याङ्क सङ्कलन गरिएको थियो । नौवटै स्थानीय तहका स्थानीय जनप्रतिनिधिले झन्डै दर्जनौँ बस्ती जोखिममा रहेको तथ्याङ्क सङ्कलन गर्दै जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए ।

विवरण पठाएको झन्डै एक वर्ष बित्न लाग्दा पनि स्थानान्तरणको कुनै जानकारी स्थानीयले पाउन सकेका छैनन् । स्थानीय तहबाट आएको जोखिम बस्तीको तथ्याङ्कको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालयमा पठाएको र त्यसको अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Author

शेरबहादुर सार्की