गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १७ गते । साहित्य, संस्कृति र कलाको उत्सव, काठमाडौँ उत्सव सुरु भएको छ । उत्सवको उद्घाटन सत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, वैरागी काइँला, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, तुलसी दिवस, होमनाथ सुवेदी र दिनेश अधिकारीले आफ्ना कविता सुनाउनुभएको थियो । दुई दिनसम्म चल्ने उत्सवमा जम्मा १५ सत्र हुने छन् ।
उत्सवको पहिलो दिनको पहिलो सत्र काठमाडौँकै संस्कृति विशेष भएको थियो । ‘सम्पदा, संस्कृति र सभ्यता’ शीर्षकमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले काठमाडौँको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षबारे छलफल गर्नुभएको थियो । उक्त सत्रको सहजीकरण पत्रकार राजेन्द्र बानियाँले गर्नुभएको थियो । त्यस्तै लेखक धु्रवचन्द्र गौतम र वसन्त चौधरीबिच ‘अक्षरका आयामहरू’ शीर्षकमा छलफल भएको थियो । गायिका शान्तिश्री परियारको सङ्घर्षदेखि लोभलाग्दो सफलतासम्मका कुराहरू पनि उत्सवमा सुनिएका थिए । शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा छलफल गर्नुभएको थियो ।
‘ज्ञान, विवेक र विज्ञान’ विषयलाई लेखक विमल आचार्यले सहजीकरण गर्नुभएको थियो । विभिन्न उमेर समूहका पुस्तक प्रेमीबिच लोकप्रिय बुकाहोलिक्सकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीसँग ‘सानो संसार, ठुलो संसार’ शीर्षकमा भलाकुसारी गरिएको थियो । त्यस्तै राजेन्द्र सापकोटा, जिस्वन तुलाधर श्रेष्ठ र लक्ष्मण गौतमबिच पर्यटनमा पहल शीर्षकमा छलफल भएको थियो । उक्त छलफलको सहजीकरण पत्रकार विराट अनुपमले गर्नुभएको थियो । उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको थियो । दशकौँदेखि मकै र चिया बेचेर लामो अनुभव सँगालेका दुई वक्ताहरूको अनुभव समेटिएको भुइँका कुरा शीर्षकलाई लेखक बिना थिङले सञ्चालन गर्नुभएको थियो । संवाद र कविता गजल प्रस्तुतिबाहेक महोत्सवमा काठमाडौँको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिएका छन् ।