गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३१ गते । कवि तथा पत्रकार श्याम रिमालको छैटौँ कृति ‘हिमाल त कालै भएछ’ सार्वजनिक भएको छ । नेपाली नाटकका प्रणेता गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । कवि रिमालले जलवायु परिवर्तनले पारेको असरका सन्दर्भमा लेख्नुभएको यस कृतिलाई सन् २०२४ मा जन्मिएका, सूचना प्रविधिमा रमाइरहेका, जलवायु परिवर्तन र विश्व वातावरणप्रति सचेत जेनजीलगायत सम्पूर्ण युवापुस्तामा समर्पण गर्नुभएको छ ।
पत्रकार गान्धीराज काफ्लेले नदी बग्दैनलगायतका बिम्बात्मक कविता लेख्ने कवि रिमालको कृतिले जलवायु परिवर्तनको असरलाई उजागर गरेको बताउनुभयो । नियात्राकार विष्णुप्रसाद शर्माले पदयात्रामा निस्किने क्रममा देखिएका हिउँबिनाको नाङ्गो वा कालो पत्थरले जोकोहीको मन रुवाउँछ भन्दै कवि रिमाललाई त्यस दृश्यको बयान कवितामा लेख्दै पर्यावरणको संरक्षणका लागि घचघच्याएको बताउनुभयो ।
कृतिमा जलवायु परिवर्तनले हिमाल, पहाड, खोला, वायुलाई पारेको असरलगायत जीवन, व्यवहारबारे लेखिएका हिमाल त कालै भएछ, म पत्रकार हुँ, जागिर, डाडुपन्यु, सुन्तला दाना, हरित तारा, प्रश्न सोध्नेहरू, विश्वास/अविश्वासलगायतका २९ वटा कविता सङ्गृहीत छन् ।