• ६ जेठ २०८१, आइतबार

भीरकोट बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

blog

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ १६ गते । गण्डकी प्रदेशमै पहिलो बालमैत्री नगर घोषणा गर्न सफल भएको भीरकोट नगरपालिकाले पूर्ण खोप सुनिश्चित नगरपालिका बनेको छ । 

भीरकोट नगरपालिकालाई कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । भीरकोट कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने स्याङ्जा जिल्लाको दोस्रो नगरपालिका हो । पुतलीबजार कोभिड–१९ को खोप सुनिश्चित भएको पहिलो नगरपालिका हो ।

कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालले कोभिड–१९ नियन्त्रणमा भीरकोट नगरपालिका र सरोकारवाला संघसंस्थाहरूले खेलेको भूमिका र सफलताको चर्चा गर्नुभएको थियो । 

कोभिड महामारीको समयमा नगरपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम, क्वारेन्टाइनको व्यवस्थापन, तत्कालीन कालिका सामुदायिक अस्पतालमा आइसोलेसन कक्षको व्यवस्थापन, हप्तामा दुई दिन निःशुल्क पिसिआर र हप्तामा सातै दिन एन्टीजिन परीक्षण, राष्ट्रिय आविष्कार केन्द्रसँगको लागत साझेदारीमा मिनी अक्सिजन प्लान्ट स्थापनालगायतका विविध कार्यक्रम गरेर कोभिड १९ नियन्त्रणको प्रयास गरेको प्रशासकीय अधिकृत भुसालले बताउनुभायो । 

भीरकोटमा १२ वर्षमाथिका लक्षित जनसङ्ख्या १६ हजार ९९३ जना मध्ये ९५.८८ प्रतिशत अर्थात् १६ हजार २९३ जनाले कोभिडविरूद्धको खोप लगाएका छन् । लक्षित उमेर समूहका ९० प्रतिशत जनसङ्ख्याले कोभिडविरूद्धको खोप लगाएपछि स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्न सकिने व्यवस्था छ । 

भीरकोट नगरपालिका समग्र स्वास्थ्य सूचकका आधारमा हेर्दा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये बाह्रौं स्थानमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताउनुभयो । 

फेदीखोला गाउँपालिका बाहेक स्याङ्जा जिल्लाका १० वटै पालिका र पर्वत जिल्लाका कोभिड सङ्क्रमित बिरामीहरूलाई भीरकोटको नगर अस्पतालमा क्वारेन्टाइनमा राखिएको, खानपान र औषधोपचारको व्यवस्थापन नगरपालिकाले गरेको थियो ।