• ९ जेठ २०८१, बुधबार

त्रियुगा प्रमुखमा नेपाली कांग्रेस, उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

blog

क्याप्सन त्रियुगा नगरपालिकाका निर्वाचित प्रमुख काँग्रेसका वसन्तकुमार बस्नेत तथा उपप्रमुख एमालेका महेश्वरी राई । तस्विर –भोटराज राई

भक्तिविलास पोखरेल/भोटराज राई

गाईघाट, जेठ १६ गते । जिल्ला सदरमुकाममा रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा बहुमत वडाध्यक्षसहित इतिहासमै पहिलोपल्ट नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले दुईहजार ८६ मतको अन्तरले एमालेका उम्मेदवार भागवत राउतलाई पराजित गर्दै उहाँ नगरप्रमुखमा विजयी हुनुभएको हो । 

त्रियुगा नगरपालिकामा कुल खसेको ४० हजार १२० भोटमध्ये बस्नेतले १३ हजार ९५९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताउनुभयो । 

तत्कालीन नेकपा एमाले हाल नेकपा समाजवादीका निवर्तमान नगरप्रमुख बलदेव चौधरीसँग अघिल्लो २०७४ सालको निर्वाचनमा ७३ मतको झिनो अन्तरले पराजित हुनुभएका बस्नेतले यसपटक भने चौधरीलाई चारहजार ८१२ मतले पछाडि पार्नुभएको हो । निवर्तमान नगरप्रमुख चौधरीले नौहजार १४७ मत मात्र प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्रियुगा नगरपालिकामा कसैसँग गठबन्धन नगरी नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको थियो । नगर प्रमुखसँगै क्रमश वडा नं १, ३, ४, ५, ८, ९, ११, १२ र १३ गरी नौ वटा वडामा नेपाली काँग्रेसले वडा अध्यक्षसहित विजय हासिल गरेको छ ।

यसैगरी, नेकपा एमालेका उम्मेदवार महेश्वरी राईले १३ हजार ७०३ मत प्राप्त गरी उपप्रमुख पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार सरिता राईले ११ हजार ९८१ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सिलवालले बताउनुभयो । 

नेकपा एमालेले उपमेयरसँगै क्रमश वडा न २, ६, ७ र १० को वडा अध्यक्ष जितेको छ । वडा नं १० मा भने काँग्रेसका प्रकाश खड्का र एमालेका किरण पाण्डेको बराबरी मत भएपछि गोलाप्रथाबाट किरण पाण्डे विजयी हुनुभएको हो । नेकपा माओवादीले भने वडा नं १४, १५ र १६ को वडाध्यक्ष्यसहित सबै पदमा विजयी भएको छ ।

‘‘भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता भएको त्रियुगा नगरलाई आर्थिक रुपले समृद्ध नगर बनाउन आपूm लागि पर्नेछु ’’ नव निर्वाचित नगरप्रमुख बस्नेतले प्रतिक्रिया दिनुभयो ।