• १४ फागुन २०८१, बुधबार

उपाधिको खडेरी टार्ने अवसर

blog

काठमाडौँ, फागुन १४ गते । फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बुधबार बलियो म्यान्मारसँग उपाधि भिडन्त गर्दै छ । यसपालि नेपाली महिला फुटबललाई परिरहेको उपाधिको खडेरी सकिन्छ या उपाधिको पर्खाइ अझै लम्बिने हो, यो नै ठुलो प्रश्नका रूपमा रहेको छ ।

नेपालको महिला फुटबल टिम पुनः गृह मैदानको फाइदा र घरेलु दर्शकको ऊर्जाबिच पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउमा छ । यसअघि १२ पटक च्याम्पियन बन्ने भिडन्तमा असफल भएको नेपाललाई उपाधिले लोभ्याइरहेको धेरै समय भइसक्यो । विश्व वरीयतामा ५५ औँ स्थानमा रहेको म्यान्मार पनि नेपालमा च्याम्पियन बन्ने सपना देख्दै छ ।

फोर नेसन्स कपमा म्यान्मार प्रमुख दाबेदारको ‘टयाग’ सहित नेपाल आएको हो । लिग चरणमा किर्गिस्तान र लेबनानविरुद्ध एकपक्षीय जित हात पारी म्यान्मारले आफ्नो स्तर धेरै माथि रहेको प्रमाणित गरिसकेको छ । घरेलु टिम नेपाल भने सुरुका दुई खेलमा किर्गिस्तान र लेबनानविरुद्ध झिनो अन्तर (समान १–०) को जितसहित फाइनलमा पुगेको थियो । सुरुका दुई खेलबाट प्रदर्शन भरोसालायक नबनेपछि लिगको अन्तिम खेलमा म्यान्मारविरुद्ध घरेलु टिम दबाबमा खेल्ने अनुमान गरियो तर २–२ ले बराबरीमा सकिएको सो खेलमा म्यान्मारलाई आच्छु आच्छु पार्दै नेपालले फाइनलमा आफ्नो जितको सम्भावना पनि उत्तिकै रहेको प्रस्ट पारेको छ । अझ म्यान्मारविरुद्धको खेलमा दुई पटक पुनरागमन गरेर हार नमान्ने गजबको खुबी देखाएर नेपाली महिला टिमले फाइनलअघि घरेलु समर्थकलाई अपार आशा दिलाएको छ । नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले म्यान्मारविरुद्ध अविस्मरणीय प्रदर्शन गरेपछि पनि नेपाल महिला टिमको उपाधिको पर्खाइ बुधबार समाप्त हुन सक्छ भन्दा फरक पर्दैन ।

नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले पनि नेपाली टिम अहिले उच्च मनोबलमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लिग चरणमा किर्गिस्तान र लेबनानसँगको खेल हाम्रा लागि कठिन थिएन तर म्यान्मारविरुद्ध हामी सशङ्कित थियौँ ।” यद्यपि पहिले नै फाइनल पुगिसकेको हुनाले म्यान्मारविरुद्ध ‘हाइप्रेसिङ’ खेलाउने निर्णय गरेँ । म्यान्मारविरुद्धको दुई गोल हाइप्रेसिङ खेलकै नतिजा हो । म्यान्मारविरुद्धको खेलबाट नेपाली महिला टिमले हाइप्रेसिङ गेम खेल्न सक्छ भन्ने प्रमाणित भएको छ । अब फाइनलमा रणनीति बनाउन पनि सजिलो भएको छ ।

प्रशिक्षक तामाङले म्यान्मारविरुद्ध गीता राना, रेणुका नगरकोटी र सावित्राबाहेक पहिलो रोजाइमा सबै युवा खेलाडीलाई मैदानमा उतारेकाले पनि म्यान्मारलाई खेल्न कठिन भएको भनाइ राख्नुभयो । उहाँले सो खेलको उदाहरण दिँदै अब नेपाल महिला फुटबल नयाँ पुस्तातर्फ रूपान्तरण हुँदै छ भन्ने पनि सङ्केत गर्नुभयो । प्रशिक्षक तामाङले यसअघि बेन्चमा रहनुभएकी मिडफिल्डर सरु लिम्बू र रश्मिकुमारी घिसिङलाई म्यान्मारविरुद्ध पहिलो रोजाइमा खेलाउनुभएको थियो । दुवै खेलाडीले राम्रो प्रदर्शन गरेकाले प्रशिक्षक तामाङलाई फाइनलमा पहिलो रोजाइ चयन गर्न कठिन हुन सक्छ । यद्यपि प्रशिक्षक तामाङले आफूले खेलाडीको नामभन्दा पनि आफ्नो मोडलमा खेल्न सक्ने खेलाडीलाई महìव दिएर टिम चयन गर्ने भएकाले आफूलाई गाह्रो नहुने बताउनुभयो ।

नेपालको महिला फुटबल टिमले एक वर्षभित्र तीन फाइनल खेल्न लागेको हो । यसअघि वाफ च्याम्पियन्स र साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा निराश बनेको थियो । त्यसैले कप्तान एन्जिला तुम्बापो सुब्बाले सबैमा च्याम्पियन बन्ने ठुलो भोक रहेको र फेरि एउटा मौका आएको बताउनुभयो । उहाँले यसलाई राम्रो खेलेर सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । “भोलि सकेसम्म कम गल्ती गरेर, एकजुट भएर प्रशिक्षकको फिलोसोफी अनुसार अन्तिम समयसम्म खेल्यो भने पक्कै पनि च्याम्पियन भइन्छ,” उहाँले भन्नुभयो ।

नेपाललाई लामो समयदेखि परेको उपाधिको खडेरी टार्न सहज भने हुने छैन । म्यान्मार यस प्रतियोगिताको सबभन्दा उत्कृष्ट टिम हो । म्यान्मारले एक खेलअघि नै फाइनलमा स्थान बनाइसकेपछि आफ्ना कप्तान विन थिन्गी टुनसहित केही प्रमुख खेलाडीलाई बेन्चमै राखेको थियो । विशेष गरी फरवार्ड लाइनमा म्यान्मारले नेपालविरुद्ध प्रयोग गरेको थियो । अझ नेपालले म्यान्मारलाई अहिलेसम्म हराउन सकेको छैन ।

विगत हेर्ने हो भने सन् २०१९ अप्रिलमा भएको महिला एसियन छनोटको दोस्रो चरणमा म्यान्मारले आफ्नो गृहमैदानमा नेपाललाई ३–१ ले हराएको थियो । पहिलो चरणमा नेपालले म्यान्मारलाई १–१ ले बराबरीमा रोकेको थियो । सन् २०१९ मै भारतको भुवनेश्वरमा भारत र इरान पनि सम्मिलित हिरो गोल्डकपमा पनि म्यान्मारसँग नेपाल समूह चरणमा ३–० र फाइनलमा ३–१ ले पराजित भएको थियो । हिरो गोल्डकपमा भएका दुवै खेलमा गोल गर्ने विन थिन्गी टुनकै नेतृत्वमा अहिलेको म्यान्मार टिम रहेको छ । यसबाहेक नेपालले यसै प्रतियोगितामा म्यान्मारविरुद्ध २–२ ले बराबरीमा खेलेको हो ।

म्यान्मारका प्रशिक्षक युकि तेत्सुरोले आफ्नो टिम फाइनलका लागि तयार भएको र राम्रो हुने प्रतिव्रिmया दिनुभयो । यसै गरी कप्तान टुनले फाइनलमा राम्रो खेलेर उपाधि जित्ने भनाइ राख्नुभयो ।