• १४ फागुन २०८१, बुधबार

ग्राभिटी रोपवे बन्द

blog

गुरुत्वाकर्षण शक्तिबाट चल्ने नामटार ग्राभिटी रोपवे । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, फागुन १४ गते । स्थानीय उत्पादन बजारसम्म लैजान मकवानपुरको कैलाशमा सञ्चालनमा आएको रोपवे बन्द भएको छ । रोपवेको एउटा तारछिनेपछि मर्मतको आभावमा पाँच महिनादेखि बन्द भएको हो । 

मकवानपुरको विकट कैलाश गाउँपालिका–९ मा गुरुत्वाकर्षण शक्तिबाट बिनाविद्युत् र इन्धन रोपवे सञ्चालन हुँदै आएको थियो । स्थानीय स्तरमा उत्पादित तरकारी, खाद्यान्न बजारसम्म पुर्‍याउन र बजारबाट घरायसी सामग्री गाउँमा लैजानका लागि उपयोगी हुँदै आएको थियो ।  

रोपवेको एउटा तार छिनेपछि असोजदेखि बन्द भएको कैलाश घैराङका स्थानीय पूर्णसिंह गोलेले जानकारी दिनुभयो । तार छिनेसँगै रोपवेमा रहेको दुई वटा बकेटमध्ये एउटा बकेट पूर्ण क्षति भएको छ । रोपवे मर्मत गर्नेबारे उपभोक्ता समितिको एकमत नभएपछि समस्या भएको उहाँले बताउनुभयो । 

११५ परिवार बसोबास गर्ने घैराङमा ग्राभिटी रोपवे स्थापना भएपछि स्थानीय तरकारी उत्पादनमा निकै उत्साहित भएका थिए । हिँडेर दुई घण्टा लाग्ने बाटोमा रोपवेमार्फत केही मिनेटमै सामान ओसारपसार गर्न सकेपछि स्थानीय निकै खुसी भएका थिए । अहिले रोपवे बन्द हुँदा समस्या भएको कैलाशका स्थानीय सुन्दर रानामगरले बताउनुभयो । हिउँदमा मात्रै गाडी पुग्ने घैराङमा दुई वर्षअघि मात्रै कच्ची सडक पुगेको छ । 

रोपवे सञ्चालनमा आएसँगै यहाँका स्थानीयले यहाँको उत्पादन नामटार बजारमा बिक्रीका लागि लैजाने गरेको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवनसिंह घलानले जानकारी दिनुभयो । रोपवेको तार नै छिनेपछि कसले मर्मत गर्ने भन्नेबारे अन्योल भएको छ । उपभोक्ता समितिले रोपवेमा सामान ढुवानीबापतको भाडा उठाउन ठेक्का दिएको ठेकेदारले नै भाडाको पैसा नदिएपछि समस्या भएको वडाध्यक्ष घलानले बताउनुभयो । 

रोपवेमा रहेको दुई वटा भारी बोक्ने क्यारीमार्फत माथिबाट र तलबाट एकैसाथ दुई वटा भारीको लोड गराएर सामान तलमाथि पु¥याउने गरिन्छ । घैराङडाँडाबाट नामटार कपचेरी स्टेसन झर्दा ९० किलोको भारी पठाउँदा तलबाट ३० किलोको भारी मात्रै माथि पुग्ने क्षमता राख्छ । 

घैराङडाँडाबाट मात्र एक मिनेट ५५ सेकेन्डमा नामटार कप्चेरी स्टेसनमा सामान ढुवानी हुने गर्छ । दुई घण्टा लाग्ने बाटोमा रोपवेले दुई मिनेटमै सामान ल्याइदिने र भाडा पनि निकै सस्तो थियो । प्रतिकिलो दुई रुपियाँमा सामान तलको माथि र माथिको तल ल्याउने गरेको उपभोक्ता समितिका अध्यक्ष ठाकुरसिंह रुम्बाले बताउनुभयो ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ र स्थानीय उपभोक्ताको गरी २५ लाख ५२ हजार रुपियाँ लागतमा १० वर्षअघि नामटारको कपचेरी र घैराङडाँडाबिचमा एक हजार २१४ मिटर लामो ग्राभिटी रोपवे स्थापना गरिएको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७१ सालमा निर्माण गरेको नेपालकै पहिलो ग्राभिटी रोपवे आवश्यक मर्मतको काम अघि बढ्न नसक्दा बन्द अवस्थामा रहेको छ ।