सन्तोष सुवेदी
कास्की, फागुन १४ गते । महाशिवरात्रिलक्षित पोखरामा करिब ३३ लाख रुपियाँ बराबरको उखु भित्रिएको छ । गण्डकी प्रदेशकै मुख्य बजार रहेको कृषि बजार व्यवस्थापन समितिका अनुसार यस पटक ३३ सय बिटा उखु भित्रिएका छन् । यो तथ्याङ्क गत वर्षको तुलनामा कमी हो । गत वर्ष ३९ सय बिटा उखु भित्रिएको समितिका अध्यक्ष नवराज दुवाडीले जानकारी दिनुभयो ।
व्यवसायकेन्द्रित उखुको बजार व्यवस्थित नहुँदा हिजोआज बिरलै उखु देख्न पाइने उहाँले बताउनुभयो । कुनै समय जिल्लाका अधिकांश बजार उखुबारीले ढाकिएका हुन्थ्यो । बढ्दो बजारीकरणले यस पेसा गर्ने किसान भने सङ्कटमा छन् । शिवारात्रिको अवसरमा भने उखुको माग अत्यधिक हुने गरेको उहाँको भनाइ छ ।
“गत वर्ष केही बढी मात्रामा उखु आए पनि शिवरात्रिका बेला पानी पर्नाले किसान मर्कामा परे । कतिपय उखु फिर्ता गरेर समेत लैजान परो । अहिले सायद त्यही कारणले उखु कम मात्रामा भित्रिएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार एक बिटामा १० देखि १५ वटा उखु राखिन्छ, जसको मूल्य आठ सयदेखि एक हजार दुई सयसम्ममा बिक्री हुने गर्छ । शिवरात्रिलक्षित धादिङ, गोरखा र तराईका केही जिल्लाबाट उखु निर्यात हुने गरेको उहाँले बताउनुभयो । कास्कीमा आएका उखुहरू पर्वत, बागलुङ, स्याङ्जासम्म जाने दुवाडीले जानकारी दिनुभयो । “यहाँ आएका उखु कास्कीका लागि पर्याप्त छन् । बाहिर जिल्ला पनि पठाइने गरेको छ,” उहाँले भन्नुभयो ।
शिवरात्रिमा प्रायः गरी शिवका भक्तहरूले प्रसादका रूपमा उखु चढाउने तथा उखु पड्काउने र खाने प्रचलन छ । पोखराको शान्ति वनवाटिकाको फलफूल तथा तरकारी बजारमा भेटिएका व्यवसायी गणेश तिवारीले यस वर्ष १५ मेट्रिक टन उखु खरिदबिक्री गर्न थालेको सुनाउनुभयो । उहाँले गत वर्ष मात्र उखुबाट तीन लाखको कारोबार गर्नुभएको थियो । उहाँले यस पटक धादिङबाट उखु खरिद गर्नुभएको बताउनुभयो । पोखरामा कालो ग्यामारे तथा सेतो जातको उखु पड्काउन बढी प्रयोग हुने गरेको छ । पोखरा क्षेत्रका किराना पसलदेखि फलफूल पसलमा उखु बिक्रीका लागि राखिएको छ ।
कालो जातको उखु खानका लागि र सेतो जातको उखु शिवरात्रिको अवसरमा धुनी लगाउँदा पडकाउन प्रयोग गरिने भएको एक व्यवसायीले बताए । पोखरामा सामान्यतया होलसेल मूल्य कालो उखु प्रतिलार्को ५० देखि एक सय रुपियाँमा बेच्ने गरेको पाइन्छ ।
शिवरात्रिका अवसरमा साँझदेखि देशका विभिन्न ठाउँका शिव मन्दिर एवं चौतारा तथा चोकमा धुनी लगाउने र उखु पड्काउने तथा उखु खाने प्रचलन रहेको छ ।