लमजुङ, फागुन १३ गते । शताब्दी लामो आयु बाँचेर कीर्तिशेष शताब्दी काव्यपुरुष राष्ट्रकवि माधव घिमिरे (१९७६–२०७७) को जन्मस्थल पुस्तुन बाहुनडाँडा, मर्याङ्दी–६, लमजुङमा साझा प्रकाशनद्वारा २०७९ मा पहिलो पटक र २०८० मा दोस्रो संस्करणका रूपमा प्रकाशित घिमिरेको महाकाव्य ऋतम्भरामाथि परिचर्चा भएको छ ।
पुस्तुन बाहुनडाँडा घिमिरे समाज, लमजुङ र कोकगोष्ठी काठमाडौँको संयुक्त आयोजनामा ऋतम्भरा महाकाव्यमाथि चर्चा गरिएको हो । नेपाल संस्कृत विश्वचिद्यालयका साहित्यका प्रध्यापक डा. जीवन अधिकारीले कार्यपत्र प्रस्तुत गरी विशद् चर्चा गरिएको यस कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका नेपालीका प्राध्यापक डा. नारायण गड्तौला, अंग्रेजीका प्रध्यापक सीताराम अधिकारी, कोकगोष्ठीका उपाध्यक्ष कवि भुवनहरि सिग्देल र कोकगोष्ठीका सचिव प्रह्लाद पोख्रेलले सम्पूरक अभिव्यक्ति दिनाका साथसाथ प्राध्यापक डा. माधवप्रसाद पोखरेलबाट विस्तृत रूपमा चर्चित महाकाव्यबारे विश्लेषण प्रस्तुत भएको थियो । परिचर्चा कार्यक्रममा गायिका लोचन भट्टराईबाट महाकाव्यको एउटा कवितागुच्छ गायन गरिएको थियो ।
सोही कार्यक्रममा गुरुङ भाषामा अनूदित ‘गौरी शोककाव्य’ को लोकार्पण ८६ वर्षीय स्थानीय व्यक्तित्व धर्मविधि घिमिरे, प्रा.डा. माधव पोखरेल र अनुवादक आशबहादुर गुरुङद्वारा संयुक्त रूपमा गरिएको थियो भने रामचन्द्र न्यौपाने ‘वनवासीको’ ‘दुर्लभ सत्सङ्ग’ नामक कृतिको लोकार्पण पनि गरिएको थियो ।
यसै अवसरमा कोकगोष्ठीको एक सय सोह्रौँ कविता शृङ्खला आयोजना गरी काठमाडौँ, चितवन र लमजुङमा बसेर काव्य साधना गर्ने २७ जना कविहरूका छन्दोबद्ध कविता प्रस्तुत भएका थिए ।
गोष्ठीका अध्यक्ष छन्दसारथि रमेश खकुरेलको कविताबाट सुरु गरिएको कविता वाचनमा यमुना न्यौपाने, आशबहादुर गुरुङ, सूर्यमणि रेग्मी, होमनाथ घिमिरे, विदुर अधिकारी, गिरिधारी घिमिरे, राजेन्द्र घायल, सिर्जना खनाल, डा. हेमनाथ घिमिरे, रामचन्द्र न्यौपाने ‘वनवासी’, उषा बस्ताकोटी खनाल, नारायणप्रसाद पोखरेल, कल्पना भट्टराई, बलराम दाहाल, खगेन्द्र खोल्साघरे, खोलाघरे साहिँलो, डा. बमबहादुर थापा ‘जिताली, सीताराम अधिकारी, कोषराज न्यौपाने, प्रह्लाद पोख्रेल, जीवन अधिकारी, भुवनहरि सिग्देल, शान्ता घिमिरे (अमेरिका), धनराज गिरी (क्यानडा) का रचना वाचन गरिएका थिए । गायिका लोचन भट्टराईले गौरी शोककाव्यका केही पद्यांश गायन गरिएको यस गोष्ठीमा कोकगोष्ठीको परम्परा अनुसार रामचन्द्र घिमिरेले वाचित रचनाहरूको कवितात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।