विश्वमा स्केटिङ तीव्र गतिमा लोकप्रिय बनिरहेको खेल हो । चार वर्षअघि युवा दर्शकलाई ओलम्पिकमा तान्ने योजनासहित टोकियो संस्करणमा स्केट बोर्डलाई समावेश गरिएको थियो । यो खेल स्नो बोर्डिङका रूपमा सन् १९९८ मा विन्टर ओलम्पिकमा समावेश भइसकेको छ । नेपालमा पनि युवामाझ स्केट खेल लोकप्रिय छ । विगतमा रमाइलोका लागि खेलिने नेपाली स्केटिङले अहिले विदेशमा पदक जित्न सक्ने खेलको छवि बनाइसकेको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनाल पनि यो खेलले भविष्यमा ओलम्पिक पदक हासिल गर्न सक्छ भन्ने दूरदृष्टि लिएर लागिपर्नुभएको छ । गत वर्ष यस खेलको नेतृत्व समाल्नुभएका खनाल निकट भविष्यमा वल्र्ड स्केट अन्तर्गत एसियाली सङ्घको कुनै जिम्मेवारीमा रहने प्रयासमा पनि हुनुहुन्छ । स्केटकोे अन्तर्राष्ट्रियस्तरमा पदाधिकारी चयन भएमा देशलाई फाइदा पुग्ने छ भन्नुहुने खनालसँग स्केट खेलमा केन्द्रित रहेर गोरखापत्रका प्रजित शाक्यले गरेको कुराकानी :
- स्केटिङ तथा स्केट बोर्डबारे नेपालमा खासै चर्चा भएको पाइँदैन । नेपालमा यो खेल कसरी भित्रिएको हो ?
सन् १९५० मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ खेलले नेपालमा सन् १९९८ मा प्रवेश पाएको देखिन्छ । सो समयमा ठमेलमा पहिलो पटक अरनिको स्केट सर्फको पसल खुलेको थियो । त्यहाँ एक जना विदेशीले स्वयंसेवकका रूपमा नेपालीलाई स्केटिङ सिकाएर यो खेल भित्र्याउनुभएको हो । त्यसपछि नेपालमा यो खेलले चाँडै गति लिएको देखिन्छ । नेपालीले युट्युबबाट हेरेर पनि सिके । स्केट खेल्ने पहिले पुस्ताले स्केट सङ्घ दर्ता गरे । पोखरामा स्केट क्लब गठन भयो । यद्यपि उहाँहरूमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता हुनु पर्छ भने ज्ञान थिएन । २०७२ सालमा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ गठन भएको हो । अहिले सङ्घ सात वटै प्रदेश र ४५ जिल्लामा फैलिएको छ ।
- नेपालमा यो खेल र खेलाडीको स्थिति कस्तो छ ?
मलाई लाग्छ, नयाँ खेलमा सबभन्दा लोकप्रिय बनिरहेको खेल हो स्केटिङ । नेपालमा सन् २०११ मा स्केट खेलाडीको एउटा समूह बन्यो जसले यो खेललाई व्यवस्थित बनाउन कोसिस ग¥यो । पछि सन् २०१३ मा युवा फर चेन्जलगायत निजी क्षेत्रबाट विभिन्न सङ्घ संस्थाले स्केट खेलको संरक्षण र प्रवर्धनमा काम सुरु गरे । अहिले यो खेलमा थुप्रै खेलाडी छन् । गत वर्षको तथ्याङ्ग हेर्ने हो भने एक हजार आठ सय स्केट बोर्डिङ र तीन हजार पाँच सय रोलर स्केटर खेलाडी रहेको देखिन्छ । नेपालभरि २७६ स्केट पार्क छन् । रुपन्देहीमा मात्र ३६ स्केट पार्क छन् । खेलाडीलाई उनीहरूको स्तर अनुसार वर्गीकरण गरेका छौँ । अहिले नेपालमा स्केट बोर्ड, रोलर स्केट र आइस स्केट गरी तीन प्रकारले यो खेल खेलिन्छ । सङ्घ गठन भएको एक दशकको अवधिमा सात पटक राष्ट्रिय स्केट खेलकुद सम्पन्न भइसकेको छ । आगामी चैतमा आठौँ राष्ट्रिय स्केट आयोजना हुँदै छ ।
- नेपालको अन्तर्राष्ट्रियस्तरमा उपलब्धि के कति छन् त ?
सन् २०१६ मा नेपालले अन्तर्राष्ट्रिय स्केटिङ महासङ्घको सदस्यता हात पारेपछि नेपालले स्केटिङ खेलसँग आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता र यस खेलसँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर सहभागिता जनाइरहेको छ ।
सन् २०१६ मा मिलन शाह ठकुरीले थाइल्यान्डको बैङ्ककमा आयोजित एसियन प्लेट च्याम्पियनसिपको फ्री स्टाइल स्केट बोर्ड विधामा नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाउनुभयो । सन् २०१७ मा नेपालले चीनमा आयोजना भएको एसियन स्केट बोर्डिङ च्याम्पियनसिपमा दुई खेलाडी मिलन शाह, रोनित देउला र प्रशिक्षकमा उज्ज्वल डङ्गोलले सहभागिता जनाउनुभयो । सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालका नेरिश थापाले फ्री स्टाइल स्केट बोर्डमा १० औँ स्थान हासिल गर्नुभयो । यसै गरी पछिल्ला तीन संस्करणको विश्व च्याम्पियनसिपमा नेपालको सहभागिता छुटेको छैन । सन् २०२२ मा संयुक्त अरब इमिरेट्स, सन् २०२३ मा जर्मनी र सन् २०२४ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले भाग लिएको हो । अब नेपालले दक्षिण कोरियाको इन्छनमा हुने एसियाली च्याम्पियनसिपमा भाग लिँदै छ । यो खेल फुटबल, भलिबल र क्रिकेट जस्तो ‘फिजिकल’ नभएर ‘टेक्निकल’ भएकाले भविष्यमा नेपाली खेलाडीले अन्तर्राष्ट्रियस्तरमा उच्चस्तरको प्रदर्शन गर्नेमा हामी ढुक्क छौँ । हाम्रा खेलाडीले विगतमा गरेको प्रदर्शनका आधारमा भन्ने हो भने हामी ओलम्पिक मेडलको हकदार हौँ । अबको नेपाली स्केटको लक्ष्य ओलम्पिक मेडल प्राप्त गर्नु हो ।
- एसियाली च्याम्पियनसिपका लागि तयारी कस्तो भइरहेको छ ?
एसियन च्याम्पियनसिपमा नेपालले रोलर र स्केट बोर्डिङ दुवै विधामा प्रतिस्पर्धा गर्ने छ । तेस्रो राष्ट्रिय स्केटिङ प्रतियोगिताबाट छनोट भएका खेलाडीले एसियाली च्याम्पियनसिप खेल्ने छन् । रोलर स्केटिङमा पुरुष र महिला दुई/दुई तथा स्केट बोर्डिङमा पुरुष र महिला तीन÷तीन जनाले एसियाली च्याम्पियनसिप खेल्ने छन् । आगामी जुलाई १५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा खेल्न १० जना खेलाडीसहित १५ जनाको नेपाली टिम कोरिया पुग्ने छ । यसका लागि तीन महिनाअघि बन्द प्रशिक्षण शिविर राखिने छ । बुटवलमा बनेको तिलोत्तमा पार्कमा स्केट बोर्डिङ र रोलर स्केटरलाई गल्फुटारमा रहेको रोलर स्केटिङ पार्कमा राख्ने योजना छ ।
- काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको बृहत् स्केटिङ पार्क बनाउँदै छ । कस्तो खालको बन्दै छ । सोबाहेक भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
काठमाडौँमा मेयर बालेन शाहसँग पब्लिक स्केट पार्क चाहिन्छ भनेर प्रस्ताव राखेका थियौँ । जुन यमबुद्ध स्केट पार्कको नाममा महानगरको स्वर्णिम योजना अनुसार बजेट स्वीकृत भएर भत्केको पुल चाबहिलमा निर्माणको क्रममा रहेको छ । पाँच करोड बजेट छुट्याइएको छ । काठमाडौँ महानगरपालिकाले सङ्घलाई डिजाइनको पक्षमा काम गर्ने जिम्मेवारी दिएको छ । हाम्रो समन्वयमा स्विट्जरल्यान्डको वल्र्ड स्केटले पठाएको डिजाइन अनुसार काम भइरहेको छ । यमबुद्ध स्केट पार्क अन्तर्राष्ट्रियस्तरको हुने छ । पार्क र स्ट्रिट दुवैको अवधारणासहित पाँच रोपनी क्षेत्रफलमा यो स्केट पार्क बन्दै छ । यसै गरी बुटवल र पोखरामा बृहत्स्तरका स्केट पार्क छन् ।
- प्राविधिक जनशक्ति कस्तो छ ?
नेपालका लागि यो नयाँ खेल हो । त्यसैले पहिले खेल्ने स्केट खेलाडीलाई नै विभिन्न क्लिनिक/सेमिनारमा पठाएर योग्य बनाएर प्राविधिक जनशक्ति तयार गरेका छौँ । सङ्घले हरेक वर्ष जस्तो वल्र्ड स्केटबाट स्वीकृति लिएर राष्ट्रियस्तरको सेमिनार गरेरै पनि रेफ्री, प्रशिक्षक तयार पारिरहेका छौँ । सङ्घसँग २३ जना रोलर स्कट र १० जना स्केट बोर्डिङका प्रशिक्षक र टेक्निकल टिम छ ।
- नेपालमा यस खेलको मुख्य चुनौती र समस्या के के छन् ?
यस खेलका लागि सहयोगी हातको कमी छ । अन्तर्राष्ट्रिय दातृ निकायबाट बेलाबखत सहयोग मिलिरहेको छ तर दीर्घकालीन सहयोग छैन । त्यसैले मुख्यतः बजेट नै अहिले समस्या हो । प्रशिक्षक र खेलाडीलाई स्वदेशमा राख्न सकिरहेका छैनौँ । राम्रा खेलाडी विदेश भासिने रोग यस खेलमा पनि छ । अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्न चुनौती छ । सानै उमेरदेखि बच्चालाई यस खेलमा लगाउन पनि समस्या भइरहेको छ । त्यसैले अहिले स्कुल र क्लबलाई लक्षित गरेर सहरी क्षेत्रमा सातै प्रदेशले काम गरिरहेको छ ।
स्केट पार्क पनि धेरै खुलेका छन् तर धेरैले व्यवसायका हिसाबले मात्र । मापदण्ड पूरा नगरेको अवस्था छ । सङ्घले स्केट पार्कलाई विश्व स्केटको मापदण्ड अनुसार हुनु पर्छ भनेका छौँ । केही पार्क अटेरी पनि भएका छन् । उनीहरूलाई जिल्ला खेलकुदमार्फत पत्राचार गराएका छौँ । कडा रूपमा नियमन गरेर मापदण्ड पूरा गर्न लागिपरेका छौँ ।
- यो ओलम्पिक खेल हो । ओलम्पिक सदस्यता के भइरहेको छ ?
२०१५ सालमा राखेपमा दर्ता भएपछि ओलम्पिक स्पोर्ट्स भएकाले नेपाल ओलम्पिक कमिटीमा सदस्यताको आवेदन दिएका थियौँ । अहिलेसम्म आवेदन स्वीकृत भएको छैन । एनओसीमा सात आवेदन छन् स्केट बोर्डिङको । स्केटको हेडक्वाटरले ओलम्पिक सोलिडारिटी कोर्स किन दाबी नगरेको भन्छ तर एनओसीको सदस्यता प्राप्त नहुँदा ठुलो रकमको ओलम्पिक सोलिडारिटी कोर्सको फाइदा लिन सकेका छैनौँ । एनओसीमा सिन्डिकेट राजनीतिको भूमरीमा हामी जस्ता अन्य खेल सङ्घ पनि पीडित बनेका छौँ । धेरै पटक विभिन्न चरणमा मौखिक लिखित प्रयास गर्दा असफल भएपछि हामीले सम्मानित उच्च अदालतमा सदस्यताका लागि परमादेश जारी गर्न पाऊँ भनी निवेदन दिएका छौँ ।
- सङ्घको आगामी कार्ययोजना के छ ?
वार्षिक क्यालेन्डरमा प्रदेशस्तरीय र राष्ट्रियस्तरका स्केट सेमिनार छन् । जिल्ला, प्रदेश र राष्ट्रियस्तरको प्रतियोगिता पनि यस वर्ष हुने छ । आगामी वैशाखमा साउथ एसियन स्केट बोर्डिङ च्याम्पियनसिपको आयोजना बुटवल र पोखरामा गर्ने जमर्को गरेका छौँ । सो प्रतियोगितामा दक्षिण एसियाका सात देशसहित आमन्त्रित चार÷पाँच देश पनि आउने छ । हामीले नेपाल स्केटमा नेपाल दक्षिण एसियाको पावरहाउस हो भन्ने देखाउन पनि यो प्रतियोगता गर्न लागेका हौँ ।