अविनाश चौधरी
धनगढी, फागुन १३ गते । घरको भित्तामा माटोको चित्र बनाउने थारू लोककला हराउन थालेको छ । पक्की घर बनाउने क्रम बढेसँगै थारू लोककला हराउन थालेको हो । अचेल कच्ची घर बनाउनेले समेत घरको भित्तामा थारू पहिचान दर्साउने चित्र बनाउँदैनन् । विगतमा थारू समुदायको कच्ची घरमा हात्ती, घोडा, मयूर, डोला–डोली बोकेको मान्छे, रुखलगायतका चित्र बनाउने गरिन्थ्यो ।
माटोले बनाइएका यस्ता चित्रले सो घर थारू समुदायको रहेको बुझिन्थ्यो तर पक्की घर बनाउने लहर चलेसँगै परम्परागत यो लोककला हराएको थारू कल्याणकारिणी सभा कैलालीका पूर्वउपसभापति माधव चौधरीले बताउनुभयो ।
“अहिले यस्तो लोककला देख्न पाइँदैन,” उहाँले भन्नुभयो, “हाम्रो मौलिक पहिचान दर्साउने परम्परागत लोककला लोप भइसकेको छ ।” सहरी क्षेत्रमा थारू समुदायका मानिसले प्रायः पक्की घर बनाइरहेका छन् । ग्रामीण क्षेत्रमा अझै पनि धेरै जसो कच्ची घर नै देख्न पाइन्छ तर ती घरमा परम्परागत मौलिक लोककला भने देखिँदैन । मौलिक लोककला हराउँदै गएपछि थारू होमस्टे सञ्चालन रहेको कैलालीको फकलपुर गाउँमा पक्की घर भए पनि एउटा कच्ची घर बनाउने र त्यसमा मौलिक लोककला दर्साउने चित्र बनाउने अभियानको थालनी गरिँदै छ ।
जागृति युवा क्लब र त्यहाँको गाउँसमाजले कच्ची घर पनि बनाउने र भित्तामा चित्र बनाउने अभियान चलाउने सो गाउँवासीसमेत रहनुभएका चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फकलपुरमा कुनै पनि थारूघर थारू समुदायको घर जस्तो छैन । सबै पक्की भएपछि अब हरेक घरकाले कच्ची घर पनि बनाउने र त्यसमा परम्परागत चित्र बनाउने अभियान चलाइँदै छ ।”
रानाथारू र कठरिया थारू समुदायले पनि कच्ची घरमा परम्परागत लोककला दर्साउने माटोको चित्र बनाउने चलन थियो । त्यो चलन पनि हराउँदै गएको छ । धनगढी क्षेत्रमा थारू घरको भित्तामा कहीँ पनि मौलिक चित्र नदेखिने गरेको धनगढी गाउँका सूर्य चौधरीले बताउनुभयो । “पहिले रानाथारू घरमा त्यस्तो चित्र देखिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त रानाहरूको घरमा पनि छैन ।”