• ११ फागुन २०८१, आइतबार

बयानब्बे प्रतिशत किशोरीले लगाए एचपिभी खोप

blog

किशोरीलाई एचपिभी खोप लगाउँदै स्वास्थ्यकर्मी ।

तिनाउ समाचारदाता 

तिनाउ (रुपन्देही), फागुन ११ गते । रुपन्देहीमा ९२ प्रतिशतलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइएको छ । रुपन्देहीमा ५९ हजार २१५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने लक्ष्य लिइएकामा ५४ हजार ५२९ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । 

रुपन्देहीमा पहिलो चरणमा आठ वटा पालिकामा ३० हजार ९२५ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिएकामा २८ हजार १८३ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिनुभयो । 

त्यस्तै दोस्रो चरणमा बाँकी रहेका आठ वटा पालिकामा २८ हजार २९० जना किशोरीलाई खोप लगाउने लक्ष्य लिइएकोमा २६ हजार ३४६ जनालाई खोप लगाइएको छ । पहिलो चरणमा माघ २२ देखि २९ सम्म र दोस्रो चरणमा फागुन १ देखि ८ सम्म खोप अभियान सञ्चालन गरिएको थियो । 

अभियान अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिकाले लक्ष्य अनुरूप खोप लगाएको छ भने सबैभन्दा कम ८२ प्रतिशत जिल्लास्तरीय खोप अभियान सुरुवात गरिएको मायादेवी गाउँपालिकामा लगाइएको छ । मर्चवारी गाउँपालिकाले लक्ष्यभन्दा बढी खोप लगाएको छ । मर्चवारीमा १०२ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सरकारले कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने र विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइएको कार्यालयले जनाएको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष नेपालमा दुई हजार १६९ जना महिला पाठेघरको मुखको क्यान्सरबाट सङ्क्रमित हुने गर्दछन् । हरेक वर्ष एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । 

जस अनुसार नेपालमा दैनिक चार जना महिलाको मृत्यु हुनुको कारण पाठेघरको क्यान्सर हुने गरेको तथ्याङ्कमा उल्लेख छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट हुने गर्दछ । यो रोग लागेपछि योनिबाट रगत आउने, तल्लो पेट दुख्ने, रक्तअल्पता हुने गर्दछ । यौनसम्पर्कबाट यो रोग सर्ने गरेको स्वास्थ्यविज्ञको भनाइ छ ।