बुटवल समाचारदाता
बुटवल, फागुन ११ गते । लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदर्शनीको शनिबार उद्घाटन गर्नुभयो । प्रदर्शनीमा चित्र, मूर्ति, लोककलामार्फत लुम्बिनीलाई चिनाउन खोजिएको छ । प्रदेशका १२ जिल्लाका कलाकारले निर्माण गरेका आकृति राखिएका छन् । १२३ जना कलाकारको १८० कलाकृति प्रदर्शनीमा राखिएको हो ।
लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कला संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, संवर्धन र प्रवर्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयो । लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिने भन्दै उहाँले कलाकृति र सिप नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत ललितकला विधाका कलाकृतिको संरक्षण र प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो । “कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति हो । यस्ता प्रदर्शनीले नेपाली ललितकला क्षेत्रको प्रवर्धन गर्दै नवप्रतिभालाई उत्प्रेरित गर्ने छन्,” उहाँले भन्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुरु भएको यो प्रदर्शनी फागुन १४ सम्म सञ्चालन हुने छ । ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले ललितकला क्षेत्रमा नयाँ कलाकार उत्पादन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै तीन तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताको पहिचान र प्रवर्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेश संयोजक दिनेश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा आशाको किरणका रूपमा ललितकलालाई लिनुपर्ने विचार व्यक्त गर्नुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका स्थानीय र ऐतिहासिक पहिचान झल्कने चित्र सार्वजनिक स्थलमा आगामी दिनमा कोरिने बताउनुभयो ।
कार्यक्रममा नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाइली, रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटालगायतले सम्बोधन गर्नुभएको थियो । कलाकार नरबहादुर विकले कार्यक्रम स्थलमा २० मिनेटको अवधिमा कोर्नुभएको चित्र मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो ।