• १२ असार २०८१, बुधबार

किसान आशावादी

blog

दमक समाचारदाता

दमक, जेठ १६ गते । सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै झापाका किसान उत्साहित भएका छन् । सरकारले ल्याएको बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई केही राहत मिल्नसक्ने उहाँहरुको विश्वास छ । बजेट राम्रो र लोकप्रिय आउने तर कार्यान्वयन फितलो हुने आशङ्का भने किसानले व्यक्त गरेका छन् । 

दमक नगरपालिका–३ मा पाँच बिघाभन्दा बढी जमिनमा कुरिलो, सजिवनलगायतको व्यावसायिक खेती गर्दै आएको योङहाङ एग्रो फार्म प्रालिका अध्यक्ष नारायण योङहाङले कृषि सामग्री ढुवानीका लागि गाडी र सहुलियतपूर्ण कर्जाका लागि छुट्याइएको बजेट किसानसम्म आइपुग्नुपर्ने बताउनुभयो ।

टाढाबाठा र पहुँच हुनेका लागि मात्र भन्दा पनि वास्तविक रूपमा कृषि उत्पादनमा लागेकाका लागि बजेटको सही सदुपयोग हुनुपर्छ, उहाँले भन्नुभयो । झापाको कुरिलो र सजिवन काठमाडाँैलगायतका ठाउँमा पु¥याउन वातानुकूलित कृषि एम्बुलेन्स आवश्यक छ, उहाँको भनाइ छ । हामीजस्ता किसानलाई यसले आशा जगाएको छ, उहाँले भन्नुभयो ।

अर्का किसान याम भण्डारीले पनि बजेट वक्तव्यमा किसानका लागि थुप्रै कार्यक्रम आएको बताउनुभयो । “यसले कम्तीमा पनि हामी खेतबारीमा काम गर्ने वास्तविक किसानका लागि राहत मिल्नुपर्छ,” उहाँले भन्नुभयो । 

अनुदान लिनदेखि लिएर कृषि उपकरण एवं औजार पाउनसम्म पनि राजनीतिक दलका नेताको फेरो समाउनुपर्ने अवस्थाको अन्त्य गरेर बजेट कार्यान्वयनमा इमानदारी र निष्पक्षता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।