• १३ साउन २०८१, आइतबार

नपामा नयाँ सडक खन्न निषेध

blog

गलकोट समाचारदाता

बागलुङ, जेठ १६ गते ।बागलुङ नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले नगर क्षेत्रको कुनै पनि स्थानमा नयाँ सडक विस्तार गर्ने कामलाई निषेध गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिको दोस्रो नगर कार्यपालिका बैठकले प्राविधिक अध्ययन बिना सडक विस्तार गर्दा सडक गुणस्तरहीन तथा वातावरणीय रूपमा प्रतिकूल विकास निर्माणको काम भएको हुँदा जथाभावी डोजर प्रयोग गरी बाटो खन्ने कार्यलाई रोक लगाउने निर्णय गरेको हो । 

नयाँ सडक विस्तारलाई रोक्ने पक्षमा छौँ, नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयो, “सबै वडाको मुख्य–मुख्य क्षेत्रमा सडक विस्तार भएको हुँदा स्तरवृद्धिमा ध्यान केन्द्रित गर्छाैँ ।” विगतमा प्राविधिक अध्ययन बिना सडक विस्तार हुँदा सडक गुणस्तरहीन, उत्पादनशील जग्गाको क्षय तथा प्राकृतिक विपत्जन्य घटना बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । 

नयाँ बाटो खन्न अतिआवश्यक भएको स्थान र अवस्थामा नगरपालिकाको प्राविधिकबाट भएको अध्ययन र सिफारिसको आधारमा कार्यपालिकाको बैठकले निर्णय गरेर मात्र नयाँ बाटो खोल्न अनुमति दिने निर्णय भएको हुँदा सबै वडा कार्यालयलाई सोहीअनुसार निर्णय कार्यान्वयनका लागि निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको भनाइ छ । “बाटो मात्र खान्ने होइन, भएका बाटोमा सररर गाडी गुड्ने बनाउने हो” नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “ग्रामीण सडकलाई बाहै्र महिना सञ्चालन हुने गरी स्तरवृद्धि गर्छौं । 

बैठकले बजार क्षेत्रको सौन्दर्यलाई ध्यानमा राख्दै बागलुङ नगरपालिका–१ देखि ४ वडामा रहेका घरको बाहिरी भाग प्लास्टर, रङ्गरोगन तथा घरको भित्तोमा उम्रिएका बुट्यान हटाउन निर्देशन दिएको छ । कात्तिक मसान्तसम्म यो कार्यसँगै घरअगाडिको सडक तथा नाली नियमित सरसफाइ गर्न सबै घरधनीहरूसँग अनुरोध गर्ने निर्णय भएको छ । 

नयाँ निर्माण हुने घरको बाहिरी भाग प्लास्टर र रङ्गरोगन भएको निर्माण सामग्रीको उचित व्यवस्थापन भएको सुनिश्चित गरेर मात्र निर्माण सम्पन्न प्रमाणपत्र दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।