• १० फागुन २०८१, शनिबार

अफ्रिकन स्वाइन फिवरबारे कृषकलाई सतर्क बनाइँदै

blog

बङ्गुरमा लाग्ने रोगबाट कसरी बचाउने भन्ने जानकारी लिन पुगेका वालिङका बङ्गुर पालक कृषकहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, फागुन ९ गते ।
पछिल्लो समय स्याङ्जाको केही बङ्गुर फर्ममा महामारीको रुपमा अफ्रिकन स्वाइन फिवर रोग देखिएपछि जिल्लाका बङ्गुर पालक कृषकलाई सतर्क बनाइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले स्थानीय तहहरुको समन्वयमा कृषकलाई प्रशिक्षण दिन सुरु गरेको हो । बङ्गुर पालक कृषकलाई सङ्क्रामक रोगहरूबाट कसरी बचाउने भन्ने विषयमा स्थलगत रुपमा नै पुगेर प्रशिक्षण दिन सुरु गरिएको भेटेरिनरी अस्पताल स्याङ्जाका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य सतकर्ताले नै ठुलो नोक्सानीबाट बच्न सकिन्छ, जसको बारेमा हामीले कृषकलाई जानकारी गराउँदै आएका छौं ।”

जिल्लामा स्वाइन फिवर रोगका कारण झण्डै आधा दर्जन बङ्गुर मरेपछि यसको सङ्क्रमण अन्यत्र हुन नदिन बङ्गुर पालक कृषक जैविक सुरक्षाको बारेमा जानकार हुनु पर्ने डा. श्रेष्ठले बताउनुभयो ।

स्याङ्जाका बङ्गुर पालक कृषकहरुले खोरेँत, स्वाइन फिवर, अफ्रिकन स्वाइन फिवर, आन्तरिक परजीवी र बाह्य परजीवी जस्ता रोगहरूले हैरानी बेहोर्नुपरेको वालिङका व्यावसायिक बङ्गुर पालक भीम लुइटेलले बताउनुभयो ।

हालसम्म अफ्रिकन स्वाइन फिवरको उपचार नभएको र प्रभावकारी खोप पनि विकसित नभइसकेको हुँदा रोकथाम नै उत्तम विकल्प रहेको वालिङ नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. रोशन बस्यालले बताउनुभयो । बाहिरबाट असुरक्षित पाठापाठी र माउ ल्याउँदा यस्ता रोगहरु बङ्गुरले बोकेर आउने गरेको उहाँको भनाइ छ ।

यसैबिच वालिङमा रहेका सक्रिय ३५ व्यावसायिक फर्म र ५ वटा समूहलाई सङ्क्रामक रोगहरूबाट बङ्गुरलाई बचाउने र राम्रो आम्दानी गर्ने तरिकाबारे जानकारी गराइएको डा. श्रेष्ठको भनाइ छ । पालिकाभित्रका व्यावसायिक बङ्गुर पालन गर्दै आएका किसानलाई जैविक सुरक्षासम्बन्धी जानकारी गराइएको हो ।

सङ्क्रमित बङ्गुरहरुमा कडा ज्वरो आउने, खाना नखाने, बान्ता हुने, पखाला लाग्ने, शरीरभरि रातो धब्बा देखिने जस्ता लक्षण देखिएपछि नगरपालिकाको पशु शाखा वा भेटेरिनरी अस्पतालमा तत्काल खबर गर्न पशु चिकित्सकको आग्रह छ ।

वालिङमा भएको कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले नगरलाई बङ्गुरको मासु तथा पाठापाठीमा आत्मनिर्भर बनाउने कार्यक्रम अघि सारिएको बताउनुभयो । बाहिरबाट रोग बोकेर आउने बङ्गुर रोकथाम गर्दै यहीँको बङ्गुरलाई प्राथमिकतामा राख्ने नीति बनाउने उहाँको भनाइ छ ।

वालिङ नगरभित्र बङ्गुर पालनमा सक्रिय किसानलाई व्यवसाय वृद्धि गर्न बिउ पुँजीको रुपमा आर्थिक सहयोग गर्न नगरपालिकाले योजना बनाएको नगर उपप्रमुख कविता गैह्रेले जानकारी दिनुभयो । जसका कारण बङ्गुरको मासुबाट राम्रो आम्दानी हुने उहाँको भनाइ छ ।