• १३ साउन २०८१, आइतबार

एकचालीस उम्मेदवारले आफैँलाई मतदान गरेनन्

blog

बनेपा समाचारदाता 

बनेपा, जेठ १६ गते । स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ४१ जनाले आफैँलाई मतदान नगरेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार जिल्लाको खानीखोला गाउँपालिकामा सबैभन्दा बढी उम्मेदवारले आफैँलाई समेत मतदान नगरेको जनाएको छ । खानीखोला गाउँपालिकामा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पावल थिङ, उपाध्यक्षका उम्मेदवार मानबहादुर सिङ्तान र वडाध्यक्ष पदकासहित नौ उम्मेदवारले आफैँलाई मतदान नगर्नुभएको हो ।  

यसैगरी चौँरीदेउराली गाउँपालिकाका छ जना, तेमाल गाउँपालिकाका पाँच जना, धुलिखेल नगरपालिकाका दुई जना, नमोबुद्ध नगरपालिकाका एक जना र पनौती नगरपालिकाका दुई जनाले आफैँलाई समेत मतदान नगरेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । पाँचखाल नगरपालिकाका चार जना, बनेपा नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कृष्णबहादुर श्रेष्ठसहित चार जना, मण्डनदेउपुर नगरपालिकाका पाँच जना र रोसी गाउँपालिकाका दुई जनाको शून्य मत रहेको छ ।

स्थानीय निर्वाचनमा शून्य मत पाउनेमा स्वतन्त्र उम्मेदवार २० जना, नेकपा एसका १३ जना, नेकपा माओवादी केन्द्रका चार तथा सामाजिक एकता पार्टी, नेपाली काँग्रेस, नेपालका लागि नेपाली पार्टी र राप्रपाका एक÷एक उम्मेदवारले आफैलाई मतदान नगर्नुभएको हो । काभ्रेका १३ स्थानीय तहको ७०१ पदका लागि दुई हजार ५०४ जनाले उम्मेदवारी दिएका थिए ।