• १० फागुन २०८१, शनिबार

एमाले कास्कीको तीन महिने पार्टी निर्माण अभियान सुरु

blog

माछापुच्छ्रे  (कास्की) फागुन ९ गते । नेकपा एमाले कास्कीले वडा केन्द्रित पार्टी निर्माण अभियान शुक्रबारदेखि थाल्दै छ । वडाका टोलहरूमा पनि पार्टी कमिटी विस्तार गर्दै उद्देश्यले नेकपा एमाले कास्कीले तीन महिने अभियान शुक्रवारदेखि सुरु गर्न लागेको हो । 

 अभियानका क्रममा सदस्यता नवीकरण तथा वितरण गरेर सङ्गठन विस्तार गरिने नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिनुभयो । अधिकारीका अनुसार पार्टीको केन्द्रको निर्देशन अनुसार जिल्लाका नेता कार्यकर्तालाई अभिमुखीकरण गराएर अभियान सुरु गरिनेछ । 

पोखरा सभागृहमा शुक्रवार हुने कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेल,  उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य खगराज अधिकारीले सम्बोधन गर्नुहुनेछ ।  

अभिमुखीकरणमा पार्टीको कास्की जिल्लाभित्रको सबै कमिटी र जन वर्गीय सङ्गठनका पदाधिकारी र सदस्य, पार्टीका सङ्गठित सदस्य सहभागी हुने नेकपा (एमाले)कास्की सचिव दर्शन लामाले जानकारी दिनुभयाे । 

“वर्तमान सरकारले गरेका कामको प्रचार गर्छौँ,”सचिव लामाले भन्नुभयो,“हाम्रो पार्टीका जनप्रतिनिधिले नेतृत्व गर्नुभएको वडाले गरेका काम पनि पार्टीले अपनत्व लिएर प्रचार गर्छ ।” सबै कमिटीमा युवाको सहभागिता एक तिहाइ बनाउने, सम्बन्धित वडाको कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य लिइएको अधिकारीले बताउनुभयो । 

सचिव लामाका अनुसार अभियानको क्रममा जनतासँग सुझाव सङ्कलन गरिने र जनताले दिएका सुझावलाई वडागत समीक्षा गर्ने र जिल्ला पार्टी कमिटीले समाधानको रणनीति बनाउनेछ । 

Author
माधवप्रसाद बराल

उहाँ कास्कीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।

लेखक बाट थप