माछापुच्छ्रे (कास्की), जेठ १३ गते । प्रतियोगितामा मङ्गलवार पुरुषतर्फ ४ खेल र महिलातर्फ दुई खेल हुँदै छन् । महिलातर्फ कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबिच तथा न्यु डायमन्ड स्पोर्टस् क्लब र एपिएफ क्लबबिच हुनेछ । कर्णाली र आर्मी दुवै प्रतियोगिताबाट बाहिरिइसेका छन् । पुरुषतर्फ एपिएफ र कोशी प्रदेश, मणिमुकुन्द र सुदूरपश्चिम, गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । १५ गतेसम्म चल्ने प्रतियोगिताको दुवैतर्फका विजेताले ८ लाख उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपियाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपियाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् ।
माछापुच्छ्रे (कास्की), जेठ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार (आज) पोखरा आउनुहुने भएको छ । शुक्रवारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा आउनुहुने भएको हो । पोखराको अमरसिंह चौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार ११ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली पोखरा आउनुहुनेछ । प्रधानमन्त्री ओली पोखरा आउने भएपछि पोखराको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । युवा सङ्घको १० औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतले सम्बोधन गर्नुहुने एमाले केन्द्रीय सदस्य तथा युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहरीले जानकारी दिनुभयो । युवा सङ्घको महाधिवेशनमा देशभरबाट २ हजार प्रतिनिधि सहभागी हुँदै छन् । नेतृत्वमा पाँच जनाको दाबीयुवा सङ्घ नेपालको नेतृत्व लिन अहिलेसम्म अध्यक्षमा पाँच जनाले आकाङ्क्षा देखाउनुभएको छ । वर्तमान अध्यक्ष क्षितिज थेबेको दोहोरिने इच्छा छ भने उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम पनि अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ । वर्तमान महासचिव सुमन पुरीले पनि आकाङ्क्षा देखाउनुभएको छ । युवा सङ्घको महासचिवमा अहिलेका सचिव निरोज पौडेल, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारी लगायतको दाबी छ । अहिले राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटी ३ सय ३९ सदस्यीय छ भने अब बन्ने कमिटी १ सय ५१ सदस्यीय हुनेछ ।
माछापुच्छ्रे, चैत २३ गते । कास्कीको अन्नपूर्ण आधार शिविर पुगेर फर्किने क्रममा हिम पहिरोमा बेपत्ता हुनुभएका चिनियाँ नागरिकको शव फेला परेको छ । २७ वर्षीय चेङयुअने गत चैत ११ गतेदेखि बेपत्ता हुनुभएको थियो । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाका अनुसार शनिवार उहाँको शव फेला परेको हो । उहाँको खोजीमा नेपाल प्रहरीको साथै कालिका गणका सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमान्डमा विपद् व्यवस्थापन टोली खटिएको थियो । सशस्त्र प्रहरीको टोलीले उहाँको शव फेला पारेको हो । बेपत्ताका आफन्त र चिनिया राजदूतावासका कर्मचारी पनि घटनास्थल पुगेको थिए ।
कास्की, चैत ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदको राजधानी बन्न सक्ने बताउनुभएको छ । पोखराको भण्डारढिकमा आयोजना गरिएको सूर्यतारा खेल महोत्सवको समापनको अवसरमा बोल्दै उहाँले गण्डकी प्रदेशमा खेलकुद पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । “गण्डकी खेलकुदको राजधानी बन्न सक्छ,”उहाँले भन्नुभयो,“ खेलकुदको पूर्वाधार निर्माणमा गण्डकीपछि परेको छ, अब त्यसतर्फ सङ्घीय र प्रदेश सकार तथा स्थानीय तहले ध्यान दिन जरुरी छ । ”उहाँले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको लागि पहल भइरहेको बताउनुभयो। “सेती घाटको १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा आइसकेको छ,”उहाँले भन्नुभयो,“ विभिन्न ठाउँमा गरेर १४ सय रोपनी भन्दा बढी जग्गा प्राप्त गरे पनि पूर्वाधार निर्माणमा प्रगति भएको छैन, प्रदेश सरकारले यसमा चासो दिनुपर्दछ ।” गण्डकी प्रदेशको विकासको लागि पोखरालाई केन्द्र मानेर विश्वविद्यालय, अस्पताल र खेल पूर्वाधार निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । छिटो छिटो सरकार फेरिने र स्रोतको सुनिश्चितता बिना नै नयाँ योजना राख्दा समस्या देखिएकोले त्यसलाई अन्त्य गर्ने गरी वर्तमान सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनु भएका गुरुङले नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यमा सरकार निर्माण भएपछि मुलुकमा सुशासनको प्रारम्भ भएको र काममालाई तीव्रता दिने प्रयास थालिएको बताउनुभयो । सार्वजनिक सेवा प्रभावकारी बनाउन अध्यादेश ल्याउन लागिएको बताउँदै कर्मचारीलाई देश र जनताप्रति उत्तरदायी बनाउनेतर्फ पनि सरकारले कदम चाल्ने उहाँको भनाइ छ ।
माछापुच्छ्रे (कास्की) फागुन ९ गते । नेकपा एमाले कास्कीले वडा केन्द्रित पार्टी निर्माण अभियान शुक्रबारदेखि थाल्दै छ । वडाका टोलहरूमा पनि पार्टी कमिटी विस्तार गर्दै उद्देश्यले नेकपा एमाले कास्कीले तीन महिने अभियान शुक्रवारदेखि सुरु गर्न लागेको हो । अभियानका क्रममा सदस्यता नवीकरण तथा वितरण गरेर सङ्गठन विस्तार गरिने नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिनुभयो । अधिकारीका अनुसार पार्टीको केन्द्रको निर्देशन अनुसार जिल्लाका नेता कार्यकर्तालाई अभिमुखीकरण गराएर अभियान सुरु गरिनेछ । पोखरा सभागृहमा शुक्रवार हुने कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य खगराज अधिकारीले सम्बोधन गर्नुहुनेछ । अभिमुखीकरणमा पार्टीको कास्की जिल्लाभित्रको सबै कमिटी र जन वर्गीय सङ्गठनका पदाधिकारी र सदस्य, पार्टीका सङ्गठित सदस्य सहभागी हुने नेकपा (एमाले)कास्की सचिव दर्शन लामाले जानकारी दिनुभयाे । “वर्तमान सरकारले गरेका कामको प्रचार गर्छौँ,”सचिव लामाले भन्नुभयो,“हाम्रो पार्टीका जनप्रतिनिधिले नेतृत्व गर्नुभएको वडाले गरेका काम पनि पार्टीले अपनत्व लिएर प्रचार गर्छ ।” सबै कमिटीमा युवाको सहभागिता एक तिहाइ बनाउने, सम्बन्धित वडाको कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य लिइएको अधिकारीले बताउनुभयो । सचिव लामाका अनुसार अभियानको क्रममा जनतासँग सुझाव सङ्कलन गरिने र जनताले दिएका सुझावलाई वडागत समीक्षा गर्ने र जिल्ला पार्टी कमिटीले समाधानको रणनीति बनाउनेछ ।