नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन ९ गते । भारत र नेपालको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई झन् प्रगाढ बनाउँदै दुवै देशका जनताबिच सुमधुर सम्बन्ध विस्तार गर्न भारत सरकारद्वारा भारत–नेपाल मैत्री महोत्सवको आयोजना गरिएको छ । नेपालगन्जस्थित नेपाल–भारत नाकापारि भारततर्फको रुपडिया बजारमा भारतको उत्तर प्रदेश सरकारको पर्यटन तथा संस्कृति विभागद्वारा आयोजना गरिएको महोत्सवमा नेपाली र भारतीय कलाकारले प्रस्तुति दिएका थिए ।
महोत्सवमा भारतका लोककलाकारले विभिन्न प्रकारका लोकगीत, नृत्यसँगै धार्मिक गीत, नृत्य र नेपाली कलाकारले राष्ट्रिय गीत र लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए । उत्तर प्रदेश सरकारको संस्कृति विभागका निर्देशक डा. राजेश अहिरवारले नेपाल र भारतको सम्बन्ध सदियौँदेखिको रहेको उल्लेख गर्दै सो सम्बन्धलाई झन् प्रगाढ बनाउन उत्तर प्रदेश सरकारले यो महोत्सवको आयोजना गरेको बताउनुभयो । उहाँले सिमाना वारिपारि दुवैतर्फ नागरिकको सांस्कृतिक, कला र धार्मिक सम्बन्धलाई बलियो र सुदृढ बनाउन नेपाल–भारत नाकाका आठ स्थानमा यस्तो महोत्सव आयोजना गरिएको बताउनुभयो ।
नेपालका तर्फबाट सहभागी हुनुभएका नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा वरिष्ठ समाजसेवी नन्दलाल वैश्यले दुवै देशका जनताको सम्बन्धलाई झन् बलियो बनाउन यस्ता सांस्कृतिक महोत्सवले अहम् भूमिका निर्वाह गर्ने बताउनुभयो ।