• ९ फागुन २०८१, शुक्रबार

पृतनापति समन्वयात्मक बैठक सुरु

blog

पृतनापति समन्वयात्मक बैठकमा रक्षा मन्त्री मानवीर राई तथा प्रधान सेनापति अशोक राज सिग्देललगायत । तस्बिर : नेपाली सेना

काठमाडौं, फागुन ८ गते । रक्षा मन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा प्रदर्शन भएको दक्षताबाट नेपाली सेना, नेपाली जनताको आस्था र भरोसाको धरोहरको रूपमा स्थापित भएको बताउनु भएको छ । 

रक्षा मन्त्रीले विश्वको बदलिँदो भू–राजनीतिक परिवेश, ध्रुवीकरणले हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानमा चलिरहेको द्वन्द्वहरूले हाम्रो देशमा पनि कुनै न कुनैरूपमा प्रभाव पार्ने बताउँदै जलवायु परिवर्तनबाट सिर्जित चुनौतीहरू, प्रविधिलगायत कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीहरूलाई समेत सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने उल्लेख गर्नु भयो । 

नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागितामा बिहीबारबाट सुरु भएको दुई दिने पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै मन्त्री राईले सो कुरा बताउनु भएको हाे । 

कार्यक्रममा प्रधान सेनापति  अशोक राज सिग्देलले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका अन्तर्निहित कार्यहरू सम्पादन गर्न नेपाली सेना सदैव प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले हालको विश्व सुरक्षा परिस्थिति बहु आयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गइरहेको अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौतीहरू सृजना हुने सम्भावना रहेको उल्लेख गर्नु भयो ।

नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको दौरान सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नु हुने कार्यक्रम छ।