सन्तोष दहित
दाङ, फागुन ८ गते । नेपालका प्रथम सहिद लखन थापा मगरको १४८ औँ स्मृतिमा घोराहीमा जारी खुल्ला नकआउट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वाटरफाइनलमा सबै खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टीमको टुंगो लागेको हो ।
प्रतियोगिताको सेमिफाइनलमा बिएफएल, युएनबीसी, नवलपुर फुटबल एकेडेमी र चौघेरा स्पार्ट्स एकेडेमी प्रवेश गरेका हुन्। नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका वडा १८ नवलपुर फुटबल मैदानमा जारी खुल्ला नकआउट प्रतियोगितामा बिहीबार भएको तेस्रो क्वाटरफाईनलमा युएनबीसीले युनाईटेड लालमटिया फुटबल क्लबलाई २–१ गोल अन्तरले तथा चौथो क्वाटरफाईनलमा नवलपुर फुटबल एकेडेमीले टरीगाउँ युथ क्लबलाई ३–० गोलले हराउँदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।
१–० को अग्रता जोगाउन नसक्दा लालमटिया युएनबीसीसँग हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । नवलपुर फुटबल एकेडेमीले टरीगाउँ युथ क्लब विरुद्ध सहज जीत निकाल्दै अन्तिम चारमा पुगेको छ ।
यसअघि बुधबार भएको पहिलो क्वाटरफाईनलमा खेलमा चौघेरा स्पोर्टस् एकेडेमीले माडीचौर फुटबल क्लब रोल्पालाई ५–१ गोलले तथा दोस्रो क्वाटरफाईनलमा बिएफएलले खोजरफ्तारको टीमलाई ५–० गोलले हराउँदै सेमिफाईनल प्रवेश गरेका हुन् । अब प्रतियोगिता अन्तर्गत शुक्रबार सेमीफाईनलका दुई खेल हुनेछ । जसअनुसार दिउँसो १२ बजे पहिलो सेमीफाईनल चौघेरा स्पोर्ट्स एकेडेमी र युएनबीसीबिच खेल हुनेछ । दोस्रो सेमीफाईनल बिएफएल र नवलपुर फुटबल एकेडेमीबिच खेल हुने प्रतियोगिता संयोजक इराक घर्तीले जानकारी दिनुभयो ।
दाङसहित सल्यान, रोल्पाका गरी कुल १६ टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक घर्तीले बताउनुभयो । फागुन १० गते फाईनल खेल हुनेगरी तयारी गरिएको प्रतियोगिता सहसंयोजक अशोक घर्तीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमलाई ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकको भनाइ छ ।