गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ९ गते । नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार पदमराज जोशीलाई प्रदान गरिएको छ । क्यान्सर रोग र महिला हिंसाविरुद्व कलम चलाएवाफत २० हजार नगदसहित उक्त पुरस्कार पत्रकार जोशीलाई प्रदान गरिएको हो ।
नवलपुरको कावासोती नगरपालिका २ मा शुक्रबार आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व कानुनमन्त्री एवं सभासद् रोशनबहादुर गाहाले उक्त पुरस्कार प्रदान गर्नुभयो । दुई दशकदेखि स्वास्थ्य पत्रकारितामा क्रियाशील पत्रकार जोशी हेल्थ टुडे पत्रिकाका सम्पादक हुनुहुन्छ । पूर्वमन्त्री गाहाले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन सचेतना अभियानको खाँचो भएको बताउँदै पत्रकारले सचेतना जगाउने काममा महत्वपूर्ण भूमिका खेल्न सक्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले क्यान्सरको जोखिम बढ्दै गएकाले यसका विषयमा सचेतना आवश्यक रहेको बताउनुभयो । पुरस्कृत पत्रकार जोशीले पुरस्कारले आफूमाथि स्वास्थ्य सचेतना जगाउन थप जिम्मेवारी थपिएको बताउँदै स्वस्थ्य समाजको निर्माणका लागि जनचेतना र उपचार सँगसँगै लैजानुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा औषधी वितरक संघ नवलपुरका सचिव राजु भुसालले क्यान्सर सचेतनाका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले करिब ९० प्रतिशत मानिस खानपानमा ध्यान नदिँदा क्यान्सरजस्तो घातक रोगको सिकार हुनेगरेको बताउनुभयो ।
फाउण्डेसनका संरक्षक शुभराज बस्यालले स्वर्गिय राधा बस्यालले सुरु गरेको सचेतना अभियानलाई मर्न नदिन आफूहरु लागिपरेको जानकारी दिनुभयो । विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कात्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो ।