दुई वर्षअघि स्वास्थ्य मन्त्रालयले आफ्नो मूल ढोकामै एउटा कृत्रिम फोक्सोको प्रतिमा टाँगेको थियो । त्यो कृत्रिम फोक्सो १५ दिनमै कालो भइसकेको थियो । ती हिउँदका १५ दिन थिए । घाम त लाग्थ्यो तर आकाश भने धुम्म भइरहन्थ्यो, न हावा न वर्षा । यो भनेको हामीले पलपलमा फेरिरहने काठमाडौँको हावा कस्तो छ भन्ने जीवन्त उदाहरण हो । अनि १५ दिनमै कालो भएको त्यो फोक्सोको रूपले हाम्रो स्वास्थ्यको जीवित चित्र पनि देखाउँछ । जहाँ नेपालमा कुनै रोगबाट मृत्यु हुने नेपालीको सङ्ख्यामध्ये लगभग १६.३ प्रतिशत हिस्सा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगले ओगटेको छ । त्यो ‘कालो फोक्सो’ ले देखाएको एउटा भयानक चित्र हो, वायु प्रदूषण ।
विगत एक दशकदेखि काठमाडौँलगायत नेपालका धेरै सहर विश्वका प्रदूषित सहरमा सूचीकृत हुन थालेका छन् । भूगोल वा जमिनी सतह र त्यसको बनावटका आधारमा विश्वका धेरै प्रदूषित सहरको सूची तलमाथि भइरहन्छ । तथापि प्रदूषित वायुले छोपेका काठमाडौँ अनि घना आवादी भएका हाम्रा सहर अझै उघ्रिन सकेका छैनन् । वायु प्रदूषण काठमाडौँ सहरको मात्रै समस्या होइन । न यो हाम्रो देशको मात्रै एकल समस्या हो । यहाँको आकाशपिण्ड अर्थात् वायुमण्डलमा जसरी प्रदूषणको बाक्लो पर्दा लागेको छ, त्यो काठमाडौँ सहर वा नेपालको मात्रै योगदान होइन । यो एउटा वैश्विक समस्या हो । किनकि यसको उद्गमस्थल एउटा कुनै भूगोलमा मात्रै सीमित हुँदैन । केही वर्षअघि पाकिस्तानको कराँची प्रदूषित वायु बोकेको विश्वकै पहिलो सहर थियो । त्यसको प्रदूषित कण बिस्तारै नेपालतिर पनि बहँदै आए र नेपालको वायुमण्डल पनि प्रदूषणका लेयरले ढपक्कै ढाकिए ।
वायु प्रदूषणलाई हामीले जति सामान्य र सजिलोसँग लिन्छौँ त्यसको दीर्घकालीन असर भने निकै भयानक छ । नेपालमा मात्रै होइन, त्यसले सारा ब्रह्माण्डमै मान्छेको स्वास्थ्यलाई यसरी असर पारिरहेको छ कि त्यसलाई गणितीय आँकडामा हे¥यौँ भने प्रदूषित हावाको असली रूप छर्लङ्ग हुन्छ । हिउँद हो कि वर्षायाम हामीले हाम्रो आकाशलाई कहिलेकाहीँ मात्रै निर्मल देख्छौँ । नत्र हाम्रा होचा डाँडाबाट पनि छर्लङ्ग देखिने सेता हिमालका हाँसो नदेखेको धेरै भइसक्यो । यसको अझ गम्भीर पाटो त के हो भने हामीले हरपल निल्ने सासमा त्यो विषालु हावाको अंश मिसिएकै हुन्छ । त्यसैले स्वास्थ्य विज्ञानमा अहिले वायु प्रदूषणको एउटा नयाँ भाष्य प्रचलनमा आएको छ– ‘साइलेन्स किलर’ । मानव स्वास्थ्यका निम्ति वायु प्रदूषण अर्थात् दूषित हावा मृत्युको एक सुषूप्त कारण पनि हो । यसैले हरेक वर्ष विश्वमा करिब ७० लाख मानिसको ज्यान निलिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष मृत्यु हुनेमध्ये करिब ७० लाख मानिसको मृत्युको कारणमा वायु प्रदूषण कहीँ न कहीँ जोडिएको छ । अर्थात् हरेक एक लाख मानिसको मृत्युमध्ये ५० जनाको मृत्युको कारण वायु प्रदूषण नै हो । फोक्सो वा श्वासप्रश्वासबाहेक स्ट्रोक, ‘क्रोनिक अब्स्याट्रयाक्टिभ पल्मोनरी डिजिज’ र स्वास प्रस्वासमा हुने उचारचढावले पनि मानिसको ज्यान लिइरहेको छ । मृत्युको यो गणितीय रेखामा ९० प्रतिशत उतारचढाव प्रदूषित हावाले गराइरहेको हुन्छ ।
मृत्युको यो आँकडामा नेपालको गति पनि बढेको बढ्यै छ । यसको अर्थ नेपालले वायु प्रदूषणको धेरै ठुलो मूल्य चुकाइरहेको छ । जसमा मान्छेको ज्यान नै एउटा प्रमुखविन्दु हो । गत वर्ष सार्वजनिक स्टेट अफ ग्लोबल एअर रिपोर्ट–२०२४ ले देखाएको एउटा तथ्याङ्क अनुसार वायु प्रदूषणका कारण नेपालमा हरेक वर्ष लगभग ४८ हजार पाँच सय जनाले ज्यान गुमाइरहेका छन् । त्योमध्ये काठमाडौँमा मात्रै वायु प्रदूषणका कारण हरेक वर्ष पाँच हजार ज्यान सकिइरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा वार्षिक रूपमा मृत्यु हुनेमध्ये करिब १० हजार मानिसको मृत्युमा वायु प्रदूषणलाई नै मुख्य कारणका रूपमा किटान गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले नेपालमा वायु प्रदूषणले गर्दा विभिन्न श्वास प्रश्वास रोगमध्ये ३९.४ प्रतिशत सिओपिडी २९.१ प्रतिशत निमोनिया र २५.३ प्रतिशत मृत्युमा तीव्र श्वासप्रश्वाससम्बन्धी रोग प्रमुख कारणका रूपमा देखाइएको छ । त्यस्तै अस्पतालमा श्वासप्रश्वाससम्बन्धी रोगको बिरामीमध्ये ४.८ प्रतिशत दम र ४.८ प्रतिशत ब्रोन्काइटिसका रोगका बिरामी देखिन्छन् । यी सबमा दूषित हावाको अंश ९० प्रतिशत हुन्छ ।
यो भयानक तथ्याङ्कीय चित्र बोकेको दूषित हावाले फेरि एक पटक काठमाडौँ र देशका मुख्य सहर यसै गरी छोपिएका छन् । कैयौँ दिनदेखि यहाँका आकाश धुम्म भएका छन् । यद्यपि वर्षायाममा पानी दर्किने तीन महिनाबाहेक काठमाडौँको आकाश यसै गरी धुम्म भइरहन्छ । यहाँको वायुको वायुको गुणवेत्ताले लगभग कुनै न कुनै विन्दुमा खतराको सङ्केत पार गरिरहेकै हुन्छ । एयर क्वालिटी इन्डेक्स अर्थात्, एक्युआई भनिने पार्टिक्युलेट म्याटर अर्थात् ‘पिएम’ १० र २.५ माइक्रोग्रामभन्दा पनि साना विषाक्त रसायनका कणको मात्राका आधारमा वायुको प्रदूषण मापन देखाउँछ । नेपाल सरकारले पनि विश्व स्वास्थ्य सङ्गठनकै मापदण्ड अनुसार पिएम २.५ लाई आधारभूत एकाइ मानेको छ । यो मात्रामा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडलगायतका रसायन हुन्छन् । त्यो धुलो वा धुवाँका कणमा धेरै नै बाक्लिएका हुन सक्छन् । त्यसैले २.५ पिएमको मात्रा जति धेरै भयो यहाँको हावा उति नै दूषित र विषालु हुन्छ । अर्थात् २.५ पिएम भनेको हाम्रो कपालको रौँको मोटाइभन्दा पनि सूक्ष्म कण हुन् । जो हावामा सजिलै मिसिन सक्छन् र त्यो बाक्लिँदै जाँदा हावा दूषित हुन्छ ।
त्यसो त काठमाडौँको भूगोलको पनि आफ्नै योगदान छ, किनकि यहाँ यस्तै हुन्छ । मनसुनका झरीपछि काठमाडौँको आकाश यसै गरी धुम्मिरहेको हुन्छ । धुलो र धुवाँले पहाडी भित्ता घपक्कै ढाकिन्छन् । त्यो भनेको हामीले निल्ने सासबाट छिरेका विषाक्त कण हाम्रो फोक्सोमा पनि उसैगरी बाक्लिरहेका हुन्छ । काठमाडौँ उपत्यकालाई यस्तै प्रदूषणले छोप्न थालेको दशकौँ बितिसक्यो । उसै पनि काठमाडौँको हावा संसारभरिकै ‘दूषित’ मानिन्छ । कहिलेकाहीँ त विश्वका दूषित हावा भरिएको सहरमध्येमको पहिलो नम्बरमा काठमाडौँ नै हुन्छ । अहिले पनि काठमाडौँको हावाले खतराको सीमा नाघिसकेको छ ।
गत असोजमा केही दिन वर्षा भएर बाढीपहिरोले वितण्डा मच्चाएयता यहाँ वर्षा हुन सकेको छैन । वर्षा नभएर हिउँदका दिन सकिइरहेका छन् । जल तथा मौसम विज्ञान पूर्वानूमान शाखाले अझै केही दिन वर्षा हुने सम्भावना देखाएको छैन र बरु निरन्तर वायु प्रदूषण हुने भन्दै त्यसबाट जोगिन सचेत गराएको छ । विज्ञहरूले पनि ठुलो वर्षा वा ठुलो हुरी नचलुञ्जेल यहाँको दूषित हावा नबाहिरिने चेतावनी दिइरहेका छन् । उसै पनि काठमाडौँको आकाशमा बाक्लिएर नाचिरहेका प्रदूषणका कण र बादलका कारण यहाँको आकाश उज्यालिन सकेको छैन ।
आफैँमा कचौरा आकारको काठमाडौँ खाल्डोमा ठुलो झरी नपर्दासम्म यहाँको वायुमण्डलमा थुप्रिएको फोहोर पखालिँदैन । काठमाडौँ त कचौरा जस्तो छ । यसको भूबनोट नै यस्तै छ । यहाँ जम्मा भएको धुलो धुवाँ बाहिर निस्किन पाउँदैन । धेरै मुस्किलले निकै समय लगाएर नागार्जुनको जङ्गल पार गर्छ । त्यो पनि यहाँ चल्ने वायुको बेगमा भर पर्छ ।
प्रदूषणको जुन तुवाँलोभित्र काठमाडौँ अहिले लपेटिइरहेको छ यो अहिले भर्खरै कतैबाट उडेर आएको दूषित हावा होइन । वर्षौंदेखि काठमाडौँको आकाशमा यस्ता प्रदूषणका कण थुप्रिँदै आएको थियो । अहिले त्यो धेरै भएको मात्रै हो । पूरा वायुमण्डल नै छेक्ने गरी एकै पटक प्रदूषण आउँदैन । वर्षौंदेखि त्यो यहाँ थुप्रिरहेको थियो । त्यसको आयतन बढ्दै बढ्दै अहिले काठमाडौँ मात्रै होइन देशका धेरै सहर त्यही प्रदूषणले छोपिएका मात्रै हुन् तर हाम्रा नीति निर्मातालाई यो विषाक्त हावाले त्यो बेला मात्रै पोल्न थाल्छ, जब सिंहदरबार वरिपरि नियाल्दा आँखा पिरो भएर पोलिन थाल्छन् ।
वायु कसरी दूषित हुन्छ वा कसरी यसमा प्रदूषणका कण बाक्लिन्छन्, यसका धेरै कारण छन् । केही प्राकृतिक कारण छन् तर ९९ प्रतिशतभन्दा धेरै त मानवीय क्रियाकलापमै वायुको गुणवेत्ता निर्भर रहन्छ । धुलो, धुवाँ यसको प्रमुख कारण हो । रसायन पनि त्यसमा मिसिन्छन् । यो मौसममा धेरै धुलो उड्छ । यो मौसममा वनजङ्गलमा धेरै आगलागी पनि हुन्छ । त्यसको धुवाँले पनि वायुमण्डलमा प्रदूषण बढ्न जान्छ । वायुलाई सबैभन्दा हानिकारक बनाउने त हामीले हाम्रा सवारीमा प्रयोग गर्ने डिजेल, पेट्रोल अनि अरू इन्धन हुन् । जसलाई जीवाश्म वा खनिज तेल भनिन्छ ।
नेपालमा पनि वायु प्रदूषण नियन्त्रणका लागि थुप्रै नियम कानुन तथा कार्यविधि बनेका छन् तर ती कागजमा मात्रै सीमित छन् । त्यसको व्यावहारिक कार्यान्वयन हुन सकिरहेको छैन । त्योभन्दा पनि वायु प्रदूषणलाई कम गर्ने सबैभन्दा ठुलो उपाय भनेको अन्तरदेशीय साझेदारी हो । त्यसमा पनि अझ छिमेकीको हातेमालोबाट यसलाई केही कम गर्न सकिन्छ । वायु प्रदूषण भनेको कुनै एउटा भूगोल वा स्थानको मात्रै योगदान हुँदैन । हावाको कुनै सीमा हुँदैन । यसका बहाव रोक्ने कुनै पहाड वा पर्खाल हुँदैनन् । अन्तरदेशीय सहकार्य, समन्वय र सहअस्तित्वको स्वीकार्यताबाट मात्रै न्यूनीकरण सम्भव छ ।