नवीनराज कुइँकेल
लमजुङ, वैशाख ६ गते । पछिल्लो समय वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दो छ । रोजगारीका लागि विदेशिएका युवाहरु गन्तव्यमा पुगेपछि विभिन्न दुःख र पीडा भोग्नुपरेका समाचारहरु आइरहन्छन् । विदेश पुग्दा तिनै दुःख र पीडा भोग्नुनपरोस् भन्ने उद्देश्यले बेँसीसहर नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अभिमुखिकरण कार्यक्रम तीव्र बनाइएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत बेँसीसहरको ११ वटै वडाका स्थानीयहरुलाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी न्यूनतम सूचना र जानकारी प्रदान गरिएको जिल्लास्थित आप्रवासी स्रोत केन्द्रले जानकारी दिएको छ । वैदेशिक रोजगारीमा जान चाहने युवा तथा सम्भावित व्यक्तिहरुलाई सहि सूचना कसरी लिने, रोगजारीका लागि जाँदै गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा सुमदायमै पुगेर जानकारी दिने काम भइरहेको जिल्लास्थित आप्रवासी स्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता ईश्वरबावु लोहनीले जानकारी दिनुभयो ।
मनोपरामर्शकर्ता सरला थापाका अनुसार बेसीशहर नगरपालिकाको वडा नं. १ को उदिपुर, सानोधिमिरे, ठुलोधिमिरे र नयाँगाउँ, वडा नं. ४ को पुरानकोट, ५ को नाल्मा, वडा नं. १० को बाँझाखेत, ११ को रामचोकबेँसी र चितीमा अभिमुखीकरण सम्पन्न भएको छ ।
आप्रवासी स्रोत केन्द्रका अनुसार करिव तीन वर्षको अवधिमा लमजुङमा वैदेशिक रोजगारीमा गएका ३४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०७९/८० देखि चालु आर्थिक वर्षमा ३४ जनाको मृत्यु भएको हो । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा १३ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०८०/८१ मा ११ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्ष ०८१/८२ को चैतसम्म आठजनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
सरकारले आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाहरुलाई परामर्श सेवा दिँदै आएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबिच भएको द्विपक्षीय सम्झौताबमोजिम सन् २०१३ देखि कार्यान्वयन भइरहेको छ । नेपाल सरकारका तर्फबाट श्रम तथा रोजगार मन्त्रालय र हेल्भेटास स्वीस इन्टर कोअपरेसनले संयुक्तरुपमा लमजुङसहित देशका विभिन्न जिल्ला छनोट गरी सो परियोजना कार्यान्वयनमा आएको हो ।