• ९ फागुन २०८१, शुक्रबार

पाथिभरा क्षेत्रको यातायात बन्द

blog

साहारा लिम्बू 

फुङ्लिङ्, फागुन ८ गते । ताप्लेजुङको फुङलिङदेखि पाथिभरा क्षेत्रको काफ्लेपाटीसम्मको यातायात बन्द भएको छ । यातायात व्यवसायी सङ्घ काफ्लेपाटीले यातायात बन्द गरेको हो । 

प्रहरी र आन्दोलनरत पक्षबिच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी, उद्योग वाणिज्य सङ्घ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए । 

गाडी तोडफोडसँगै चालकलाई समेत कुटपिट गरेको र उक्त जिम्मा आन्दोलनरत पक्षले नलिएसम्म यातायात ठप्प गरिएको यातायात व्यवसायी सङ्घ काफ्लेपाटीका अध्यक्ष कुमार लिम्बूले जानकारी दिनुभयो । अहिले घाइते चालक र झडपमा घाइते भएका सुरक्षाकर्मीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको इन्सेक प्रतिनिधि एलिना दियालीले जानकारी दिनुभयो । 

उक्त झडपमा परी सुरक्षाकर्मी र आन्दोलनरत पक्षबिचको झडपमा १३ जना घाइते भएका छन् । आन्दोलनरत पक्षले अझै पनि केबलकार निर्माण क्षेत्रमा गई नाराबाजी गरिरहेकाले त्यहाँको स्थिति नाजुक रहेको काफ्लेपाटी स्थानीयबासीको भनाइ छ । त्यहाँको होटलहरू समेत बन्द भइसकेको बताइएको छ ।