नागेन्द्रकुमार कर्ण
महोत्तरी, फागुन ८ गते । महोत्तरीका क्रिकेट खेलाडी तथा मलेसियाका खेलाडीहरूबिच मैत्रीपूर्ण खेल खेलाउने सहमति भएको छ ।
गैर आवासिय नेपाली सङ्घ मलेसिया र महोत्तरी क्रिकेट सङ्घबिच भएको सहमति अनुसार मलेसियामा महोत्तरीका क्रिकेट खेलाडीहरूलाई लगेर मैत्रीपूर्ण खेल खेलाउने सहमति भएको हो ।
महोत्तरी क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह तथा गैर आवासिय नेपाली सङ्घ मलेसियाका अध्यक्ष राकेश महतोबिच सो सहमति भएको हो । सो अवसरमा गैर आवासिय नेपाली सङ्घ मलेसियाका पदाधिकारी तथा महोत्तरी क्रिकेट सङ्घका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।
सहमति अनुसार मलेसिया क्रिकेट क्लबबाट आयोजना हुने मैत्री पूर्ण खेल खेल्ने महोत्तरीबाट जाने खेलाडी, कोचहरूको सम्पूर्ण खर्च गैर आवासिय नेपाली सङ्घ मलेसियाले व्यहाेर्ने छ ।
महोत्तरी क्रिकेटसङ्घका अध्यक्ष रोशन सिंहले अहिले मिति तय नभए पनि आगामी मङसिर, पुस महिनामा महोत्तरीका खेलाडी र मलेसियाका खेलाडीबिच मलेसियामा मैत्रीपूर्ण क्रिकेट खेल खेलाउने सहमति भएको जानकारी दिनुभयो ।
उहाँले यस कार्यले क्रिकेट खेलमा खेलाडीहरूको आकर्षण बढनुका साथै खेलाडीहरूलाई तयारी गर्न समेत सहज हुने बताउनुभयो । भेटको क्रममा दुवै देशको खेल, खेलाडीका कुराहरूका साथसाथै मायाको चिनो साटासाट र शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
गैर आवासिय नेपाली सङ्घ मलेसियाका अध्यक्ष राकेश महतोले महोत्तरीको क्रिकेटलाई अगाडि बढाउनका लागि एउटा प्रयास स्वरूप यस्तो मैत्रीपूर्ण खेल आयोजना गरिएको बताउनुभयो ।
क्यानका उपाध्यक्ष रोशन सिंह महोत्तरीमा क्रिकेटलाई अगाडि बढाउन लागि पर्नु भएको छ । उहाँकै प्रयासमा नेपाली महिला क्रिकेट टोलीका कप्तान पूजा महतो तथा यु–१९ टिमको कप्तान अभिषेक तिवारी महोत्तरीबाट प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा खेलिरहनुभएको छ ।