• ७ जेठ २०८१, सोमबार

तामाङलाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि

blog

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा सहभागी खेलाडी । तस्बिर सौजन्य : विकाश कार्की

काठमाडौं, जेठ १५ गते । १७औं  तेन्जिङ हिलारी  एभरेष्ट म्याराथनको उपाधि तीर्थबहादुर तामाङले जित्नुभएको छ । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक उचाईको म्याराथनमा आइतबार तामाङले तीन घण्टा ५१ मिनेट ९ सेकेन्डमा दूरी पार गर्दै उपाधि जित्नुभएको हो । 

सगरमाथा आधार सिविरबाट सुरु भएर नाम्चे बजारमा आएर सम्पन्न भएको म्याराथनमा नेपालकै राजकुमार राजभण्डारी तीन घण्टा ५१ मिनेट ३९ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो हुनुभयो । तीन घण्टा ५३ मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएका सुमन कुलुङले तेस्रो स्थान हासिल गर्नुभयो । 

विदेशीतर्फ स्विट्जरल्यान्डका बर्नहाड जिन्जर पहिलो, रोमानियाका डार्गोस मुन्टियानु दोस्रो र बेलायतका बेन्जामिन सिन्क्लेयर तेस्रो हुनुभयो । महिलातर्फ खुला म्याराथनमा नेपालकी पूर्णिमाया राई पहिलो, अमलधानी राई दोस्रो र सेविका राई तेस्रो हुनुभयो ।

खुला हाफ म्याराथनमा जर्मनीकी भेरिना स्लिमेइररपहिलो, रोमानियाकी एलिना फेर्तु दोस्रो हुनुभयो । प्रतियोगितामा एक्सट्रिम अल्ट्रा ६० किलोमिटर दौड, खुला म्याराथन र महिला खुलाम्याराथनका विजेताले समान एक लाख रुपियाँ पुुरस्कार पाउनुभयो । उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपियाँ पाउनुभयो । 

 यसैगरी विदेशीतर्फको म्याराथन र हाफ म्याराथनका विजेताले जनही ५० हजार, उपविजेताले जनही ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा एक सय २७ विदेशी तथा ६६ नेपाली गरी कूल एक सय ९३ जनाको सहभागिता रहेको थियो ।