काठमाडौँ, फागुन ८ गते । काठमाडौंको पूर्वीभेगस्थित शङ्खरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सब स्टेसन निर्माण धमाधम भई रहेको छ ।
तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सब स्टेसन (जिआइएस)’ प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सब स्टेसन निर्माणाधीन छ । सब स्टेसन निर्माण आगामी पुसभित्र (डिसेम्बर २०२५) सम्पन्न गर्ने लक्ष्यका साथ काम भई रहेको छ ।
स्थानीय समस्याको बाबजुद करिब एक वर्षअघि सुरु भएको सब स्टेसन निर्माण हाल पूर्ण रूपमा (फूल फेज)मा भई रहेको छ । करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सब स्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठुलो हब हो ।
मानवबस्तीमा सब स्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीयबाट सब स्टेसन निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । सब स्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरूले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण(आइई) तथा पूरक आइईलगायतका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा उत्तम बोझिनीलाई सब स्टेसन निर्माणस्थल छनोट गरिएको थियो । स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गर्दै सब स्टेसन निर्माण भई रहेको छ ।
खिम्ती–बाह्रबिसे–लप्सीफेदी सब स्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सब स्टेसनको नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरू रहने भवनलगायतका सिभिल संरचनाहरूको निर्माण करिब ४० प्रतिशत सकिएको छ । सब स्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरणहरूको आपूर्ति करिब ८० प्रतिशत भई सकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सब स्टेसन पनि निर्माणाधीन छन् ।
तामाकोशी–काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सब स्टेसनका सिभिल संरचनाहरूको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरूको आपूर्ति ९८ प्रतिशत भई सकेको छ । सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि सब स्टेसनमा उपकरणहरूको जडान सुरु हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सब स्टेसन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यावसायीहरूलाई निर्देशन दिनुभयो ।
‘‘स्थानीय समस्याका कारण सब स्टेसन निर्माणमा केही ढिला भयो तर हालसम्मको निर्माण प्रगति सन्तोषजनक नै देखिएको छ’’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘स्थानीयबाट सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेलमैदान गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतकामा राखिएका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत सम्बोधन गरिरहेका छौं,गर्दै जानेछौं ।’’
स्थानीयसँगको प्रतिबद्धताबमोजिमका सिएसआरअन्तर्गतका कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउनसमेत उहाँले आयोजना व्यवस्थापनलाई निर्देशन दिनुभयो ।
तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सब स्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौँ आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सब स्टेसनमा जोडिने छ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरू खडा गरिएको छ । करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ ।
त्यस्तै, बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ । उक्त टावरहरू लप्सीफेदी क्षेत्रमै पर्दछन् । करिब ४२ किलोमिटर तार तानिएको छ । तामाकोशी–काठमाडौँ प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भई रहेको आयोजना प्रमुख नितिश पौडेलले बताउनुभयो । आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सब स्टेसन निर्माण सम्पन्न भई सकेको छ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युतलाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकास्थित नयाँ बुटवल सब स्टेसनतर्फ प्रवाह गराउन सकिनेछ ।
नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैँक (एडिबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सब स्टेसनहरू तथा प्रसारण लाइन निर्माण भई रहेको हो ।
लम्सीफेदी– चाँगुनारायण निर्माणमा अझै अवरोध
लप्सीफेदी सब स्टेसनबाट काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि निर्माण अगाडि बढाइको लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भई रहेको अवरोध अझै हट्न सकेको छैन । प्रसारण लाइनको मार्गधिकारका जग्गाधनीले अवरोध गर्दा करिब ७ वर्ष अघिदेखि निर्माण प्रभावित हुँदै आएको छ । यसका कारण प्रसारण लाइन निर्माण नै सुरु हुन सकिरहेको छैन ।
आयोजनाअन्तर्गतको चाँगुनारायण १३२ केभी सब स्टेसन निर्माण सम्पन्न भई सकेको छ । तर विद्युत् आपूर्तिका लागि स्रोत नभएकाले चाँगुनारायण सब स्टेसन सञ्चालनमा आउन सकिरहेको छैन । उक्त सब स्टेसनबाट विद्युत् आपूर्ति दिन थालिएपछि मुख्य रूपमा काठमाडौंको पूर्वीभेगको आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । हाल उक्त क्षेत्रमा चावहिल सब स्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।