काठमाडौँ,फागुन ८ गते । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झाले राससलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित मूल समारोहमा उहाँले यसका लागि सरकारले बजेट बढाउनुपर्ने नभए आत्मनिर्भर बन्ने गरी स्वायत्तता प्रदान परिनुपर्ने धारणा राख्नुभयो ।
कार्यकारी अध्यक्ष झाले राससको समाचार सेवालाई सरकारी निकायले खरिद गरेको खण्डमा राससको आम्दानी बढ्ने र यो क्रमशः आत्मनिर्भरताको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “राससको आफ्नै आम्दानी पर्याप्त छैन । अहिले आफ्नै आम्दानीबाट कर्मचारीलाई उपदान दिनुपर्ने व्यवस्था छ । यसले समस्या भइरहेको छ । सरकारले रासस जस्ता संस्थालाई कि त शत्प्रतिशत बजेटको व्यवस्थापन गरिदिनुपर्यो, नभए व्यापार तथा आयआर्जनका लागि आफ्नो काम गर्ने गरी स्वतन्त्र छोडिदिनुपर्यो”, उहाँले भन्नुभयो,“कमाउने बाटो खुला नहुने र बजेट पनि पर्याप्त नहुने हो भने संस्थालाई कसरी गतिशील बनाउन सकिन्छ रु सरकारले यसबारेमा गम्भीर भएर सोच्नुप¥यो । अन्य सञ्चारमाध्यमको समाचार सेवा खरिदमा अर्बौं रकम खर्चजस्तै रासस बुलेटिन खरिद गरेको खण्डमा हामी केही वर्षमै आत्मनिर्भर बन्नसक्छौँ ।”
विसं २०१९ को ऐन, विसं २०४९ को सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) का आधारमा संस्था चलिरहेको भन्दै कार्यकारी अध्यक्ष झाले ओएनएम समायोजन गरेर रासस ऐन सुधारका लागि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले प्रतिनिधिमूलक प्रजातन्त्र नभई सहभागितामूलक प्रजातन्त्रको आवश्यकता सम्बोधनतर्फ देश अगाडि बढिरहेको अवस्थामा रासस पनि सोही अवधारणाअनुरूप अग्रसर रहेको बताउनुभयो । “हामीलाई सरकारको सञ्चारमाध्यम भनिन्छ । हामी आफूलाई राज्यको सञ्चारमाध्यमका रूपमा भन्दा ठीक हुन्छ कि भन्छौँ । मिडियामा समावेशी प्रतिनिधित्व र विषयवस्तुको विविधताको कुरा पनि उठ्छ । यसमा रासस प्रतिबद्ध छ । हामीको सहभागिताका सवालमा सचेत छौँ ।”
कार्यकारी अध्यक्ष झाले सरकारको सूचना प्रवाहको प्रणाली स्पष्ट नहुँदा कतिपय अवस्थामा समाचार पुष्टि गर्न समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि समाचार सम्प्रेषण गर्दा मिडियालाई द्विविधा नहोस्, समाचार सम्प्रेषणमा एकरुपता आओस् भन्ने हेतुले सरकारको सूचना प्रवाह प्रणाली स्थापित गर्न आवश्यक छ । त्यसैले म यहाँ आग्रह गर्न चाहन्छु, यदि सरकारी सूचना सम्प्रेषण र प्रवाहका लागि रासस उपयुक्त संस्था हो भने सरकारले हामीलाई जिम्मेवारी देओस् त्यसलाई कुशल ढङ्गले निर्वाह गर्न तयार छौँ ।”
कार्यकारी अध्यक्ष झाले सरकारले सहजीकरण गरेको खण्डमा राससलाई सिङ्गो मिडिया अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । “रासस समाचार बैङ्क मात्रै हैन रासस राज्यको स्मृति पनि हो । राससमा विसं २०१८ देखि हालसम्म राज्यका गतिविधि सङ्ग्रहित छन् । राससलाई एउटा ‘मिडिया रिसर्च सेन्टर’का रूपमा विकास गरौँ । मिडिया अनुसन्धानको कामका लागि राससमा काबिल जनशक्ति छन्”, उहाँको भनाइ थियो ।
कार्यकारी अध्यक्ष झाले समाचारमा ‘एआइ’ को कुरा आइसकेकाले अब ‘कन्टेन्ट’ विकासबारे विभिन्न जिल्ला र क्षेत्रमा यससम्बन्धी कार्यशाला आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस