काठमाडौं, फागुन ७ गते। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले इन्टरनेटमा आधारित हिंसा गम्भीर प्रकृतिको भएको बताउनुभएको छ।
बुधबार राजधानीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को विमोचन कार्यक्रममा उहाँले आधुनिक सञ्चार प्रणालीको विस्तारसँगै इन्टरनेटमा आधारित हिंसा गम्भीर प्रकृतिको भएको विषय पुस्तकमा समावेश गरिएको बताउनुभयो।
अध्यक्ष अर्यालले भन्नुभयो, “नेपालको ठूलो समस्या खासगरी, आधुनिक सञ्चार प्रणालीबाट इन्टरनेटमा आधारित एउटा साइबर स्पेस छ, त्यहाँ महिलामाथि हुने हिंसा गम्भीर समस्या हो। अहिले हिंसा पहिलेको जस्तो शारीरिक हिंसा मात्रै होइन। अहिले इन्टरनेट पनि हिंसाको ठाउँ बनेको छ। यसको डरलाग्दो तथ्याङ्क पुस्तकमा राखेका छौँ।”
उहाँले अहिले पनि लेख्न, बोल्न पाउने नागरिक र राजनीतिक अधिकारका लागि नै लड्नुपरेको बताउनुभयो। जसकारण, बद्लिदो परिस्थितिमा नयाँ ढङ्गले विषय उठाउनुपर्ने उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायको कुरा दुई दशकदेखि अल्झिरहेको थियो। यो विषय उठाएका छौँ। सम्पूर्ण मानव अधिकार खासगरी जलवायु परिवर्तनबाट दैनदिनमा मानिसका जीवनमा परेका असरका बारेमा कुरा गरेका छौं।”
इन्सेकका पूर्व अध्यक्ष सुवोध प्याकुरेलले सङ्क्रमणकालीन न्यायको विषयमा अन्याय भएको धारणा राख्नुभयो।
प्याकुरेलले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायमा अन्याय भएको छ। जो–जो द्वन्द्वमा लागेका थिए, तिनी हाम्रा शासक भए। त्यसप्रतिको जवाफदेहिता इंगित गर्न सकेनौं। जवाफदेहिता नहुने कुरामा ध्यान जान आवश्यक छ।”
उहाँले प्रजातन्त्र दिवसको अवसरमा वर्ष पुस्तक विमोचन भएको भन्नुहुँदै विगतमा कमैया जस्तो दास व्यवस्थाविरुद्ध इन्सेकले आवाज उठाएको बताउनुभयो।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मानव अधिकार र वातावरण छुट्याउन नमिल्ने विषय रहेको बताउनुभयो। नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरण सबैको मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको भन्नुहुँदै उहाँले वातावरण प्रदुषणबाट पीडितलाई क्षतिपुर्तिको समेत व्यवस्था उल्लेख भएको भनाइ राख्नुभयो।
उहाँले काठमाडौँ महानगरका विद्यालयमा बालबालिका तथा वातावरण सम्बन्धमा (बाबा) क्लब गठन गरिएको जानकारी दिनुभयो। यसैगरी, उहाँले हाँडीगाउँमा ‘नो भेहिकल सेट्अरडे’ मनाउने गरिएको बताउनुभयो।
प्रा.डा. दिनेश भुजुले विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपाल फोक्सोजन्य रोगबाट धेरै मान्छेको मृत्यु हुने देश अन्तर्गत पर्ने गरेको बताउनुभयो। वातावरण प्रदूषण न्युनीकरणका लागि सबैले प्रभावकारी कार्यक्रम अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ।
चुरे तथा वनजंगल संरक्षणका अभियन्ता सुनिल यादवले वातावरण संरक्षणका लागि २०७४ देखि सो अभियान सुरु गरिएको बताउनुभयो। यस विषयमा मधेशदेखि केन्द्र सरकारसम्म ध्यानाकर्षणका लागि निरन्तर सङ्घर्षका कार्यक्रमहरु हुँदा समेत यसको सुनुवाइ नभएको उहाँको भनाइ छ।
यस्तै, अभियन्ता लक्ष्मी महतोले वातावरण संरक्षणको अभियानमा आफ्नो दाइ दिलिप महतोको २०७६ पुस २६ गत क्रुरतापूर्वक हत्या हुँदा समेत राज्यले बेवास्ता गरेको बताउनुभयो।